दीपा महत, तौलिहवा ।
मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, नियमित अनुगमन र जनचेतना आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।
सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा बिहीबार सम्पन्न मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला स्तरीय समिति तथा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले बदलिँदो प्रविधि र सामाजिक परिवेशसँगै मानव बेचबिखनका स्वरूप पनि परिवर्तन भइरहेकाले त्यसअनुसार रोकथामका रणनीति अपनाउनुपर्ने बताएका हुन्।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लामा मानव बेचबिखनको वास्तविक अवस्था बुझ्न कम्तीमा प्रत्येक छ–छ महिनामा समीक्षा बैठक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, केही होटलमा विद्यालयकै पोसाकमा किशोरीहरू आउने गरेको जनगुनासो बढेकाले सम्बन्धित निकायले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव बेचबिखन जघन्य अपराध भएकाले यसको नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा निकाय, नागरिक समाज तथा समुदाय सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। पछिल्लो समय नेटवर्किङ व्यवसाय, सामाजिक सञ्जालको दुरुपयोग तथा अन्य विभिन्न माध्यमबाट मानव बेचबिखनका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिको समयमै पहिचान र सचेतनाले घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले मानव बेचबिखन नियन्त्रणमा सुरक्षा निकायसँगै सबै सरोकारवाला सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो। घटना न्यूनीकरण तथा कानुनी परामर्शका लागि सरकारी वकिल कार्यालयसँग नियमित अन्तरक्रिया भइरहेको जानकारी दिँदै नेपालमा विभिन्न स्वरूपमा मानव बेचबिखन हुने गरेकाले यसको रोकथाममा सबैको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो।
गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले यस्ता अन्तरक्रिया तथा समीक्षा बैठक नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाईले जिल्लाका केही बजार क्षेत्रमा विद्यालयकै पोसाकमा किशोरीहरूलाई यौन शोषणमा संलग्न गराइएको, महिला अधिकारका नाममा निवेदन लेख्दा पीडितबाटै रकम असुल्ने गरिएको तथा विभिन्न धार्मिक प्रभावमार्फत प्रार्थना कार्यक्रममा सहभागी गराउने जस्ता गुनासा आउने गरेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
साथी संस्थाकी विमला पौडेलले उद्धार गरिएका पीडित पुनः जोखिममा परे–नपरेको नियमित अनुगमन तथा फलोअप गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले मानव बेचबिखनको वर्तमान अवस्था, प्रयोग भइरहेका माध्यम, नीतिगत तथा संरचनागत व्यवस्था, चुनौती र समाधानका उपायबारे प्रस्तुति दिनुभएको थियो।
त्यसैगरी, शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार जिल्ला संयोजक भूमिराज भट्टराईले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कृष्णप्रसाद पाण्डेले मानव बेचबिखनसम्बन्धी कानुनी व्यवस्था र सजायका विषयमा जानकारी गराउनुभयो।
सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले मानव बेचबिखनका चुनौती दिनप्रतिदिन जटिल बन्दै गएकाले दीर्घकालीन रणनीति र सबै पक्षको सहकार्यबाट मात्र यसको प्रभावकारी नियन्त्रण सम्भव हुने बताउनुभयो।
कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षा अधिकृत पुण्यप्रसाद न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा मानवअधिकारसँग सम्बन्धित विभिन्न संघसंस्था, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।











प्रतिक्रिया