कपिलवस्तु।
बाणगङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८१.१४ प्रतिशत बजेट कार्यान्वयन गर्न सफल भएको जनाएको छ। आर्थिक वर्षको समापनका अवसरमा नगरपालिकामा आयोजित जनप्रतिनिधि तथा कर्मचारीबीचको समीक्षा, छलफल एवं अन्तरक्रिया कार्यक्रममा एक वर्षको आर्थिक तथा विकास प्रगति सार्वजनिक गर्दै नगरपालिकाले विभिन्न चुनौती र अप्ठ्याराबीच पनि उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जानकारी दिएको हो। वाणगंगा नगरपालिकाका लेखा प्रमुख केशव गैरेका अनुसार नगरपालिकाले चालु खर्च तर्फ ८६.५५ प्रतिशत र पूँजीगत तर्फ ७३.२ प्रतिशत बजेट कार्यान्वन गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले सीमित स्रोत, समय तथा विभिन्न प्रशासनिक र प्राविधिक चुनौतीका बाबजुद नगरपालिकाले लक्ष्यअनुसार बजेट कार्यान्वयनतर्फ उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो। उहाँले बजेट कार्यान्वयनसँगै सेवा प्रवाहमा सुधार, विकास निर्माणको प्रभावकारी व्यवस्थापन तथा ‘ब्रान्ड बाणगङ्गा, बिलिभ बाणगङ्गा’ अभियानलाई सफल बनाउन कर्मचारीहरूको सक्रिय भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
साे अवसरमा कार्यपालिकाको तर्फबाट नगरपालिकाको प्रशासनिक नेतृत्व गर्दै बजेट कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीप्रति विशेष धन्यवाद तथा आभार प्रकट गरिएको थियो। साथै उहाँको नेतृत्वमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको मेहनत, इमान्दारिता र जिम्मेवारीपूर्ण कार्यसम्पादनको उच्च प्रशंसा गरिएको थियो।
नगर प्रमुख अर्यालले नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि, टोल विकास संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा नगरवासी सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि सबै पक्षको सहकार्य, समन्वय र सकारात्मक सहभागिताबाट नगरको समग्र विकासलाई अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाले चालु आर्थिक वर्षमा हासिल गरेको ८१.१४ प्रतिशत बजेट कार्यान्वयनलाई आगामी वर्षहरूमा अझ प्रभावकारी वित्तीय व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह र दिगो विकासका लागि सकारात्मक आधारका रूपमा लिइएको जनाएको छ। राजनीतिक तथा प्रशासनीक नेतृत्वले आगामी आर्थिक वर्षमा विकास आयोजना समयमै सम्पन्न गर्ने, सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउने तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।











प्रतिक्रिया