२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

सीमा सुरक्षा र तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन एआईजी पोखरेलको निर्देशन



कपिलवस्तु । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनीकुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोक्न सरकारको ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

लुम्बिनी प्रदेशका सीमा नाकाहरूको स्थलगत अनुगमनका क्रममा आइतबार कपिलवस्तुस्थित कृष्णनगर, खुनुवा र चाकरचौडा भन्सार क्षेत्रको निरीक्षण गर्दै उनले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता र जिम्मेवारीका साथ टुटिरहित सुरक्षा व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

अनुगमनका क्रममा एआईजी पोखरेलले स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व संरक्षणका विषयमा सुझाव समेत लिएका थिए। उनले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय समुदाय र सशस्त्र प्रहरीबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।

वर्षायाम सुरु भइसकेकाले सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै उनले खबर प्राप्त भएको ६ मिनेटभित्र आवश्यक उद्धार तथा सुरक्षा सामग्रीसहित टोली परिचालन गर्न सक्ने गरी २४सै घण्टा तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सीमा क्षेत्रमा कार्यसम्पादनलाई थप प्रभावकारी र पारदर्शी बनाउन देशभर अनुगमन टोली परिचालन गरिरहेको जनाएको छ। सोही क्रममा कपिलवस्तुस्थित नम्बर २८ गण हेडक्वार्टर तथा मातहतका युनिटहरूको निरीक्षण गरिएको हो।

अनुगमन भ्रमणमा नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक अधिकारीको पनि सहभागिता रहेको थियो। कपिलवस्तुको निरीक्षणपछि टोलीले रुपन्देही र नवलपरासीका सीमा नाकाहरूको समेत अनुगमन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति : २८ असार २०८३ आइतबार ००:००  ५ : ५९ बजे