कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि तथा पशुपन्छी क्षेत्रतर्फ १२ करोड ५८ लाखभन्दा बढी रुपैयाँको वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ।
जिल्ला समन्वय समिति कपिलवस्तुको सभा हलमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले आ–आफ्ना वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्।
कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्र कपिलवस्तुका लागि ४ करोड ६२ लाख ९३ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका लागि ४ करोड ५ हजार रुपैयाँ र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका लागि ३ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
कृषि ज्ञान केन्द्रले कृषि उत्पादन, बजारीकरण, नियमन तथा प्रविधि प्रसारका लागि १ करोड ९५ लाख ८९ हजार रुपैयाँ, केन्द्रतर्फ १ करोड ९२ लाख ४ हजार रुपैयाँ, कृषि विभागको संघीय सशर्त अनुदानतर्फ ४५ लाख रुपैयाँ तथा सहकारी तथा गरिबी निवारण कार्यक्रमका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।
त्यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले चेते धान खेती विस्तारका लागि २५ हेक्टर क्षेत्र निर्धारण गर्दै ४ लाख रुपैयाँ बजेट छुट्याएको छ। सिँचाइ पूर्वाधार विकास तथा मर्मतसम्भारअन्तर्गत चेते धान प्रवर्द्धन कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कृषि तथा पशुपन्छी उद्यमशीलता प्रवर्द्धनका लागि ८४ लाख रुपैयाँ, चक्लाबन्दीमा आधारित खेतीमार्फत उत्पादन वृद्धि गर्न १० लाख रुपैयाँ तथा ब्रान्डिङ र अर्गानिक प्रवर्द्धनका लागि १४ लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपन्छी उत्पादन, बजारीकरण, नियमन तथा प्रविधि प्रसारलगायतका कार्यक्रम सञ्चालन गर्न ४ करोड ५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
कार्यक्रममा कृषि अधिकृत सुमन खनालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरी, कृषि आधुनिकीकरण एकाइका वरिष्ठ कृषि अधिकृत राकेश कुमार ओझा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. सुकई प्रसाद थारुले आगामी योजना तथा बजेटबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए।
वरिष्ठ कृषि अर्थविज्ञ युवराज ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता तथा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, कृषि विकास निर्देशनालय बुटवलका मुख्य कृषि प्रसार अधिकृत मनोज सिंह, कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुका प्रमुखलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय तहका कृषि शाखा प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
सार्वजनिक गरिएको कार्यक्रमले जिल्लाका किसानलाई कृषि प्रविधि, अनुदान तथा बजारीकरणमा पहुँच विस्तार गर्दै कृषि क्षेत्रको व्यवसायीकरण र उत्पादन वृद्धि गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया