काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि नेपालले विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गरिरहेको सहयोगबारे जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी आएको दिनदेखि नै विभिन्न देशले नेपाललाई राहत, उद्धार सामग्री, आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन्। उनले नेपालको दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बाका रूपमा उभिएको बताएका छन्।
छिमेकी भारतले पाँच चरणमा हालसम्म ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ भने प्रभावित क्षेत्रमा उद्धारका लागि विज्ञ टोलीसमेत परिचालन गरेको छ। चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ। नेपालले प्रभावित क्षेत्रमा प्रयोग गर्न चीनसँग ३० वटा बेलीब्रिज उपलब्ध गराउन अनुरोध गरेको छ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ भने श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ।
अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अष्ट्रेलियाले विशेषज्ञ तथा ड्रोन सञ्चालन गर्ने टोलीसमेत नेपाल पठाउने भएको छ।
त्यस्तै, संयुक्त अरब इमिरेट्सले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ।
त्यसैगरी, बेलायतले ५० लाख पाउण्ड, युरोपेली संघले २० लाख युरो, स्विट्जरल्यान्डले १० लाख अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २० लाख अमेरिकी डलर, आयरल्यान्डले ५ लाख युरो, चेक गणतन्त्रले २५ लाख चेक कोरुना र नर्वेले १ करोड २७ लाख नर्वेजियन क्रोन सहयोग गर्ने घोषणा गरेका छन्।
त्यस्तै, फ्रान्सले प्रभावित क्षेत्रका २०० परिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ भने लक्जेम्बर्ग र लाटभियाले पनि राहत सामग्री प्रदान गरेका छन्।
प्रधानमन्त्री शाहले अझै कतिपय देशले सहयोगको प्रस्ताव गरिरहेको भन्दै नेपालको आवश्यकता पहिचान गरेर सहयोगका लागि प्रस्ताव अघि बढाइरहेको बताए।
यसैगरी, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण, एसियाली विकास बैंकबाट बजेट सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहयोगका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उनले जानकारी दिएका छन्।









प्रतिक्रिया