भैरहवा ।
भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ जना नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ती बालबालिकालाई भारतस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी र मानव बेचबिखनविरुद्ध भारतको दिल्लीमा कार्यरत संस्था ‘किन इन्डिया’ को समन्वयमा उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई पारिवारिक पुनस्र्थापनाका लागि बुधबार बिहान नेपाल ल्याइएको थियो ।
उद्धार गरिएकामध्ये १० जना बालक र पाँच जना बालिका छन् । ‘किन इन्डिया’ का निर्देशक नवीन जोशीले नेपालबाट बालबालिकालाई मदरसामा पढाउने भन्दै भारत लैजाने गरेकोले सानो उमेरमा बालबालिका भारतमा यौन हिंसालगायतका कारणले जोखिममा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बालबालिका जोखिमपूर्ण अवस्थामा भेटिएपछि उद्धार गरिएको हो । अझै केही बालिका दिल्लीको रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका थिए ।”
बुधबार अभिभावकको जिम्मा लगाइएका १० जनामध्ये महोत्तरीको सम्सी गाउँपालिकाका छ जना बालक छन् । उनीहरूलाई मदरसामा पढाउने भन्दै भारतको महाराष्ट्रस्थित जलान जिल्लामा पुर्याइएको थियो । मदरसामा उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको सूचना पाएपछि महाराष्ट्र प्रहरीको समन्वयमा छापा मारेर उद्धार गरिएको थियो । त्यसै गरी पश्चिम नवलपरासीको प्रतापपुर, रौतहट, झापा र पर्साका एकरएक जना बालिकालाई पनि अभिभावकको जिम्मा लगाइएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीपरिसरमा नेपाल प्रहरी, नेपाल सरकारका प्रतिनिधि तथा आफन्तको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
भारतबाट उद्धार गरिएका बाँकी पाँच बालबालिकामा पाल्पाका दुई जना बालक, अछाम र कञ्चनपुरका एकरएक जना बालक तथा सिराहाकी एक बालिका छन् । उनीहरूलाई महाराष्ट्र, दिल्ली, झारखण्ड र विहारलगायत भारतका विभिन्न स्थानबाट उद्धार गरिएको हो । लामो समय परिवारबाट अलग भएका बालबालिका अभिभावकसँग प्रत्यक्ष भेट भएपछि भावुक बनेका थिए । कतिपय बालबालिकाले अभिभावक भेट्दा खुसीका आँसु झारेका थिए भने आफन्तसमेत भावविह्वल भएका थिए ।
तर सबै बालबालिका भने अभिभावकको घर फर्कन इच्छुक देखिएका छैनन् । पारिवारिक झैझगडा, विग्रह तथा घरेलु हिंसाका कारण घर फर्कन नचाहने बालबालिकाको सुरक्षा र आवश्यकताका आधारमा वैकल्पिक व्यवस्थापन गरिने जनाइएको छ ।
भारतबाट उद्धार गरिएका बालबालिकाको स्वदेश फिर्ती, मानसिक परामर्श, आवास, अभिभावकको खोजी तथा पारिवारिक पुनस्र्थापनाका लागि ‘किन इन्डिया’ सँग शुभ अवसर ग्राम नेपाल र गुड सेफर्ड इन्टरनेसनल फाउन्डेसन नेपालले सहकार्य गर्दै आएका छन् ।









प्रतिक्रिया