२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

रेसुङ्गामा तीन महिनादेखि हवाई उडान ठप्प



गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा पछिल्लो तीन महिनादेखि हवाई उडान ठप्प भएको छ। गत जेठ २४ गते अन्तिम उडान भएपछि यस विमानस्थलमा मौसम प्रतिकूलताका कारण पछिल्लो तीन महिनादेखि नियमित उडानमा ठप्प भएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार विशेषगरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गर्दछ। वर्षमायामको समयमा बिहानपख बाक्लो बादलसंगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा यस विमानस्थलमा उडान अवरुद्ध हुन्छ। भदौ महिनाको आजसम्म पनि मौसममा सुधार नआउँदा यहाँ हवाई उडानमा अवरुद्ध आएको हो।

यहाँ हिउँदको समयमा पनिको बाक्लो हुस्सु लाग्ने हुँदा उडान अवरुद्ध आउने गरेको छ। यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार दिनसम्म यहाँ उडान हुने व्यवस्था मिलाइएको थियो। पछिल्लो समय तालिका समायोजन गरी हप्तमा तीन दिन आइतबार, बिहीबार र शनिबार उडान हुने तालिका रहेको उहाँले बताउनुभयो।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान हुने समय तालिका छ। गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा रहेको छ। हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरू घुम्नका लागि सिधै यस जिल्लामा आउने गरेका थिए।

तर, पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण हवाई भाडादर वृद्धि हुँदा यात्रुको चाप पनि घट्दै गएको पाइएको छ। हवाई भाडादर समायोजन गरी कम गर्न आवश्यक देखिन्छ। रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार ५०० रुपियाँ भाडा कायम गरिएको थियो।

अहिले भाडादर वृद्धि भएर रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि दश हजार ५०९ रुपियाँ ५५ पैसा र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि दश हजार ७०९ रुपियाँ ५५ पैसा भाडा कायम भएको छ। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको थियो। हालसम्म दुईतर्फी उडान ३६८ भएको छ। 

प्रकाशित मिति : २४ भदौ २०८३ बुधबार ००:००  १२ : १६ बजे