२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

शुद्धोधन माविको सामाजिक परीक्षण सम्पन्न



बाबुराम रायमाझी ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–९ स्थित शुद्धोधन माध्यमिक विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। विद्यालय परिसरमा आयोजित एक समारोहबीच विद्यालयको सामाजिक परीक्षण तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको हो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कौलेश्वर प्रसाद मिश्रले सहभागीलाई स्वागत गर्दै विद्यालयको भौतिक अवस्था, शैक्षिक गतिविधि तथा विद्यालयले हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर थप सुधार गर्न आवश्यक रणनीति तथा योजनाका बारेमा समेत जानकारी गराउनुभएको थियो।

कार्यक्रममा विद्यालयका शिक्षक एकनारायण पौडेलले आर्थिक वर्ष २०८२/०८३ को विद्यालयको करिब १ करोड ४७ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो। सामाजिक परीक्षणमार्फत विद्यालयका शैक्षिक, भौतिक तथा आर्थिक गतिविधिलाई पारदर्शी बनाउने उद्देश्यले प्रतिवेदन सार्वजनिक गरिएको विद्यालयले जनाएको छ।सो अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्न सहयोग गर्ने वाणगंगा नगरपालिका–४ जितपुर निवासी कर्ण तिवारीलाई सम्मान गरिएको थियो। तिवारीले आफ्नी आमा नमकुमारी तिवारी र स्वर्गीय पिता पूर्णबहादुर तिवारीको स्मृतिमा विद्यालयमा अक्षयकोषका लागि सहयोग गर्नुभएको थियो। विद्यालयले उहाँलाई अक्षयकोषदाता रूपमा सम्मान गरेको हो।

त्यस्तै, वाणगंगा नगरपालिका–९ जिनुवा निवासी स्वर्गीय गिरमानसिंह थापा र स्वर्गीय तिलकुमारी थापाको स्मृतिमा विद्यालयमा अध्ययनरत विपन्न, दलित तथा जेहेन्दार १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। छात्रवृत्तिका रूपमा विद्यार्थीलाई जम्मा ६६ हजार रुपैयाँ नगद वितरण गरिएको विद्यालयले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले २०३१ सालमा स्थापना भएको शुद्धोधन माध्यमिक विद्यालयले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्नुभयो। विद्यालयको समग्र सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका रहने भन्दै उहाँले सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। विद्यालयको विकासका लागि वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्वशिक्षक ठाकुरप्रसाद खनाल, पूर्ववडा अध्यक्ष ध्रुव बेल्बासे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर पौडेललगायतले विद्यालयको शैक्षिक प्रगति, व्यवस्थापन र आगामी योजनाका विषयमा शुभकामना तथा सुझाव दिनुभएको थियो।यसैबीच, विद्यालयका विद्यार्थी तथा शिक्षकले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि विद्यार्थीबाट ५ हजार ७ सय ९० रुपैयाँ र शिक्षकबाट १ लाख २४ हजार २ सय १० रुपैयाँ गरी जम्मा १ लाख ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रम शिक्षक–अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक विष्णुप्रसाद बेल्बासेले गर्नुभएको थियो।विद्यालयले सामाजिक परीक्षणमार्फत विद्यालयका आर्थिक, शैक्षिक, भौतिक तथा व्यवस्थापकीय गतिविधिलाई सरोकारवालामाझ सार्वजनिक गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार, पारदर्शिता र जवाफदेहितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २५ भदौ २०८३ बिहिबार ००:००  ८ : ५३ बजे