१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

नव प्रभात बचत तथा ऋण सहकारीको २३औँ वार्षिक साधारणसभा सम्पन्न



बाबुराम रायमाझी ।

“राष्ट्र विकासका लागि सहकारीता र सहकारी विकासमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा रहेको नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।सगरमाथा विद्या मन्दिरको परिसरमा सम्पन्न साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति, लेखा तथा ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संस्थाका तर्फबाट दीपक कुँवरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले ४४ करोड ६२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जानकारी गराउनुभयो। साथै उहाँले संस्थाका सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा सहकारीको माध्यमबाट योगदान पुर्‍याउँदै आएको बताउनु भएको थियो ।

त्यस्तै, लेखा संयोजक निर्मला खरालले सुझावसहित लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।भने ऋण उपसमितिका संयोजक छत्रमणि पाण्डेले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाबाट प्रवाह भएको ऋणलाई उत्पादनशील तथा आयमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष बसन्त खनालले आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै सहकारीको उद्देश्यअनुसार आर्थिक गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सदस्यहरूलाई सम्मानसमेत गरेको थियो। संस्थामा सर्वाधिक कारोबार गर्ने कारोबारकर्ता, नियमित बाल बचतकर्ता, असल ऋणी, एकल महिला तथा ज्येष्ठ बचतकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले सहकारी संस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा व्यवसायिक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताउनु भएको थियो ।
वडा अध्यक्ष पौडेलले सहकारीले बचत संकलन र ऋण प्रवाहमा मात्र सीमित नभई स्थानीय स्तरमा रोजगारी तथा उत्पादन वृद्धि गर्ने गतिविधिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नु भएको थियो ।कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडका अध्यक्ष दीपक बस्नेत, भलवाड स्वास्थ्य चौकीका प्रमुख जित विकास रायमाझी, संस्थाका सल्लाहकार भुवनेश्वर पौडेल, धुर्ब बेल्बासे लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको प्रगति र सफलताको कामना गर्नुभएको थियो।

नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०५४ सालमा स्थापना भएको हो। संस्थाले हाल वाणगंगा नगरपालिकाका ७, ८ र ९ लाई आफ्नो कार्यक्षेत्र बनाई सदस्यहरूलाई बचत तथा ऋण लगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थामा हाल १ हजार ४ सय २५ जना शेयर सदस्य आबद्ध रहेका छन्।

साधारणसभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सदस्यको आर्थिक समृद्धि, उत्पादनशील क्षेत्रमा लगानी, वित्तीय अनुशासन र सहकारीको संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३ सोमबार ००:००  १० : २१ बजे