२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

डडेलधुरा अध्यक्षले एमाले छाड्ने, आउने भए एकीकृत समाजवादीमा



डडेल्धुरा ।
डडेलधुरा नेकपा एमालेका तत्कालीन अध्यक्ष डा तारा जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुहुने भएको छ ।

सुदूरपश्चिममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरित गतिविधि गराउन थालेपछि डडेल्धुरामा चरम असन्तुष्टि देखिएको छ । तत्कालीन अध्यक्ष जोशीलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार जिल्लामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउँनने तय भएको बताइएको छ । ओलीले अध्यक्षको रूपमा प्रकाश साउँदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । साउँदले गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एक्लौटी रूपमा नेतृत्व चयन गरेपछि विवाद थप चर्किएको छ ।

एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए बमोजिम १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि भन्ने आशामा आफूहरु एमालेमै बसेको बताउदै डा जोशीले कार्यान्वयन नभएपछि आफूहरु समाजवादीमा प्रवेश गर्न लागिएको जानकारी दिनुभयो ।

डा जोशीको जिल्लामा पकड राम्रो रहेको बताइन्छ । उहाँसँगै अधिकांश नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने तयारी छ । डा जोशीसँगै नेतृ सकुन्तला नगरकोटी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्ट, अमरगढी नगरप्रमुख संगीता भण्डारी समाजवादीमा प्रवेश गर्न लाग्नुभएको बताइएको छ ।

कार्यकर्ता भेटघाट र कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष नेपाल बुधबार डडेलधुरा जानुहुने एकीकृत समाजवादी डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताउनुभयो । अध्यक्ष नेपालसँगै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले पनि डडेलधुरा जान लाग्नुभएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८ मंगलबार ००:००  ६ : ५४ बजे