७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

माधव नेपाल भन्छन्– देश निर्माण गर्ने अभिभारा एकीकृत समाजवादीले पूरा गर्छ



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन्।

उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा बिहीबार आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिस्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए।

क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा (एमाले)परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उनको भनाइ थियो। ‘हामीसँग प्रतिगमनका विरुद्ध लडने गतिशिलता छ। नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्तैनन्’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीलाई स्वागत गर्ने क्रममा स्थानीय तहमा जनताका प्रत्यक्ष सरोकारका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्नका साथै संगठन विस्तारमा क्रियाशील हुन आग्रह गरे।

एमालेनिकट मजदुर संगठनका केन्द्रीय सदस्य किशोर चाम्लिङ, राजु राईलगायत एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

प्रकाशित मिति : २१ माघ २०७८ शुक्रबार ००:००  ७ : ५८ बजे