८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बुटवलमा विप्लव समूहका जिल्ला सदस्यसहित ९ जना पक्राउ



बुटवल ।
एमसीसी नेपाल कम्प्याक्ट खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ९ जना पक्राउ परेका छन् ।

प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी) का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो ।

प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक,तुलराज विकलगायत नेता कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । एमसीसीको विरोध गर्दै नेकपासहितका पाँच दलीय मोर्चाले गरेको बन्दको प्रभाव रुपन्देही र आसपासका जिल्लामा आंशिकरुपमा परेको छ । बन्दका कारण निजी र सरकारी विद्यालयहरू बन्द छन् ।

सिद्धार्थ राजमार्ग र पूर्व-पश्चिम राजमार्गमा छिटफुटरुपमा सवारी साधन चलेका छन् । बजार तथा पसलहरू बन्द रहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८ बुधबार ००:००  १० : २८ बजे