८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

डीआईजी अधिकारीले ब्रह्माकुमारी दिदीको हातबाट राखी बाँधे



सीताराम चौधरी, कपिलवस्तु ।
जनै पूर्णिमाको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रक्षाबन्धन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
ब्रह्माकुमारी दिदीबहिनीहरुले कार्यक्रममा उपस्थित सबैलाई राखी बाँधेर सुखशान्ति र दीर्घायूको कामना गर्नुभएको थियो । हरेक वर्ष जनै पूर्णिमाको अवसरमा रक्षाबन्धन कार्यक्रमको आयोजना गरी दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति अमनचयनका लागि राखी बाँध्ने गरेको ब्रह्माकुमारी चन्द्रा दिदीले बताउनुभयो । भाइ बहिनीको प्रेमको प्रतीकको रुपमा मनाइने रक्षाबन्धन पर्वलाई जगेर्ना गर्न यस किसिमको कार्यक्रमलाई निरन्तरता दिंदै आएको चन्द्रा दिदीको भनाई छ ।
सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर बाहिनी चन्द्रौटाका बाहिनीपति डी.आई.जी. चिरञ्जीवि अधिकारीलाई राखी बाँधी कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डी.आई.जी. अधिकारीले मानवको अन्तरआत्मा परिवर्तन गरी ब्रह्माकुमारीले फरक तरीकाबाट समाजमा शान्ति फैलाउने काम गरेको बताउनुभयो । तर प्रहरीले भने समाजमा अमनचयन फैलाउन देखिने गरी शान्ति सुरक्षाको काम गरेको उहाँले स्पष्ट पार्नुभयो । समाज परिवर्तन गर्न पहिले आफू परिवर्तन हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – “शान्ति सबैलाई चाहिन्छ । समाजमा शान्ति अमनचयन कायम गर्न मानवको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ ।”
यस्तै कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा शिवराजका सम्पूर्ण बासिन्दामा भाइचाराको सम्बन्ध होस्, सबैको घरघरमा खुशियाली छाओस्, सबैले हर्सोल्लासपूर्ण पर्व मनाउन् भनी शुभकामना दिनुभएको थियो । सोही कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तुको प्रतिनिधित्व गर्दै प्रिजेन्ट प्रेसिडेन्ट तोयानाथ गैरे, चार्टर प्रेसिडेन्ट टोपलाल पोख्ररेल, पास्ट प्रेसिडेन्ट डा. प्रकाश पौडेल, प्रेसिडेन्ट नोमिनी विष्णु भट्टराई, उपाध्यक्ष माया आचार्य सहित विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयले ब्रह्माकुमारी दिदीहरुको हातबाट राखी बाँधेका थिए । दिदीबहिनी नभएका दाजुभाइले समेत ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा आयोजित कार्यक्रममा पुगी राखी बाँधेका थिए ।

प्रकाशित मिति : १० भदौ २०७५ आइतबार ००:००  १२ : २५ बजे