अर्घाखाँची ।
सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङ्गा बोक्ने ट्र्रयाक्टर र टिपरमा टाइम कार्ड लागू भएको छ ।
चुनढुङ्गा बोकेका गाडी तीव्र गतिमा चल्दा दुर्घटनाको जोखिम बढेपछि टाइमकार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
टाइमकार्ड लागू भएपछि चुनढुङ्गा बोकेका लोड गाडीहरु नरपानीबाट चार घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको वार्षिक समीक्षा कार्यक्रममा गाडी तीव्र गतिमा गुड्ने हुँदा असुरक्षा बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको रिजालले बताउनु भयो ।
आर्थिक वर्ष २०७९/८०मा जिल्लाभरि गाडी दुर्घटनामा परि १३ जनाको ज्यान गएको रिजालले बताउनुभयो । यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार २ सय १२ गाडीको कारबाहीबाट एक वर्षको अवधिमा ३७ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।







प्रतिक्रिया