२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

समाजवादी जागरण अभियान २१ गते रूपन्देही पुग्ने



बुटवल ।
नेकपा एकिकृत समाजवादी पार्टीले असोज १४ गतेदेखि सुरू गरेको ‘मेचीमहाकाली समाजवादी जागरण अभियान’को टोली असोज २१ गते रूपन्देही आईपुग्ने भएको छ।

असोज १४ गते मेचीदेखि शुरू भएको समाजवादी जागरण अभियान २५ गते महाकाली पुगेर समापन हुने सो पार्टीले जनाएको छ।

शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव हरि पराजुलीले अभियान अन्तर्गत २१ गते भैरहवामा र २२ गते बुटवलमा कार्यक्रम तय गरिएको बताए।

बुटवलमा हुने अन्तरक्रिया तथा जनसभालाई पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल सहित केन्द्रीय नेताहरूले सम्बोधन गर्ने पराजुलीले जानकारी दिए।

अभियान शुरू भएको छैटौं दिनसम्म आइपुग्दा पार्टीप्रती आम मानिसहरूको आशा र भरोसा जागेको उनले दावी गरे।

अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका साढ़े तीन हजार नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएको पराजुलीको दावी छ।

नेपालको संविधान २०७२ ले नेपाली जनताको आरक्षा संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत समृद्धि र समाजवाद भनेको उल्लेख गर्दै मुलुकमा देखिएको आर्थिक संकट, युवाहरूमा देखिएको निराशा, बेरोजगारी समस्या, असहिष्णु र घृणाको राजनीतिले समृद्धि र समाजवादको यात्रालाई अल्मलाइरहेको सो पार्टीले जनाएको छ।

राजनीतिक पार्टीका सिद्धान्त र कार्यक्रम ठोस र स्पष्ट नहुँदा सत्ता प्राप्तिका तत्कालिन मुद्दामा केन्द्रीत हुने, राजाका निकायहरूमा भागबन्डा गर्ने, पार्टीहरू फुट्ने र जुट्ने तथा संसद विघटन गर्नेसम्मका घटनाक्रमहरू देखिएको भन्दै अहिले देशमा सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा अन्योल र अस्थिरता बढेको सो पार्टीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८० शुक्रबार ००:००  १ : ०८ बजे