१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

लुम्बिनीमा बुद्धजयन्ती मूल समारोह कार्यक्रम शुरू



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आयोजित २५६९औं बुद्धजयन्ती मूल समारोह उद्घाटन गर्नुभएको छ । आज बिहान लुम्बिनी पुग्नुभएका प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध‍जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनुभएको छ ।

बुद्धजयन्तीअन्तर्गत हिजैदेखि लुम्बिनीमा विभिन्न कार्यक्रम शुरू भएका थिए । आज मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलिसम्म विभिन्न कार्यक्रम हुँदैछन् ।

मूल समारोहअघि आज बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।

बुद्धजयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट खर्च गर्दैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२ सोमबार ००:००  १ : ४५ बजे