लुम्बिनी ।
बुटवल उपमहानगरपालिका- ११, मिलीजुली पथमा बुधबार बिहानै भएको आमा र २ छोरीको सामूहिक हत्या भयो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ३४ वर्षीया दीपा बस्याल, उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको हो।
उनीहरूलाई आफ्नै घरमा बोलाएर दीपाका पूर्वपति ३५ वर्षीय सुजन कोइरालाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए। कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दीपा र सुजनबीच ०६९ सालमा विवाह भएको थियो। तर त्यही वर्ष आफ्नै माइला दाजु सुदीप कोइरालाको हत्यामा सुजन जेल परे। त्यसपछि सुजन र दीपाको सम्बन्ध चिसियो।०७२ सालमा दीपाले सुजनसँग सम्बन्धविच्छेद गरेकी थिइन्।
सम्बन्धविच्छेदपछि दीपाले पूर्वी नवलपरासीको कावासोतीका शंकर ढकालसँग विवाह गरिन्। दुई छोरीहरू ढकालपट्टिका हुन्। ढकाल भने अहिले वैदेशिक रोजगारीका लागि दुबईमा छन्।
पाल्पामा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने दीपा एक आफन्तको विवाहका लागि मंगलबार बुटवल आएकी थिइन्। त्यही बेला पूर्वपति सुजनले उनलाई घर बोलाएका थिए। बुटवल उपमहानगरपालिका(११, मिलीजुली पथमा रहेको कोइरालाको घरमा मंगलबार राति सुजनसँगै दीपा र उनका दुई छोरीहरू बसेका थिए।
प्रहरीका अनुसार बुधवार बिहान ४ बजेतिर सुजनले दीपा र छोरीहरूको धारिलो हतियार चक्कु र हतौडाको प्रयोग गरी हत्या गरेका थिए। कोइरालाले बिहान ६ बजेतिर आफ्नो घरको भान्सा कोठा मर्मतका लागि भन्दै एक जना व्यक्तिलाई काम गर्न घरमा बोलाएका थिए। त्यसपछि त्यहाँ हत्या भएको विषय बाहिर आएको थियो। प्रहरीले सुजनलाई घरैबाट हिरासतमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए।
छिमेकीका अनुसार दाजुको हत्यामा जेल परेका कोइराला ८-९ वर्ष जेल बसेपछि संविधान दिवसमा राष्ट्रपतिबाट माफी पाएर बाहिर आएका थिए। त्यसयता उनी कारागारमा निर्मित सामाग्रीहरूको व्यापार गर्दै आएका थिए। प्रहरीले उनको जेल बसाइ र माफीबारे पाल्पा प्रहरीसँग बुझिरहेको जनाएको छ । सुजनको घरभित्र जहाँ कहीं कारागारमा बनेका सामग्री भण्डारण गरिएको छ।
प्रहरीले तीन वटै शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेको छ। दीपा र सुजन विगत १ वर्षदेखि एक आपसमा भेटघाट गर्ने गरेको खुलेको छ। मानसिकरूपमा पनि सामान्य अवस्थाका देखिने सुजनले हत्या किन गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दीपाका आफन्तले भने दीपा बुटवलमा भान्जीको विवाहमा आउने कुरा बताएको भएपनि मंगलबार नै आएकोबारे थाहा नपाएको बताएका छन्। उनी पाल्पाको तानसेनमा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनी बुटवल आइसकेको र यस्तो घटना घटेको भन्नेबारे बुधबार बिहान थाहा पाएर घटनास्थलमा आएको आफन्तको भनाइ छ।







प्रतिक्रिया