२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

गुरु पूर्णिमाको अवसरमा कपिलधाममा गुरुलाई सम्मान



बाबुराम रायमाझी, भलवाड ।

कपिलवस्तु जिल्लाको धार्मिक तथा आध्यात्मिक स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा गुरुपूर्णिमाको अवसरमा एक भव्य सम्मान कार्यक्रम सम्पन्न भएको छ। वैदिक परम्पराअनुसार मनाइने गुरुपूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा धाममा स्थापित बैदिक संस्कृत गुरुकुलका गुरु दामोदर पौडेल र योग गुरु आत्माराम आचार्यलाई विशेष सम्मान गरिएको हो।

धामका अध्यक्ष शंकर प्रसाद आचार्यले दुबै गुरुलाई परम्परागत दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा योग गुरु आत्माराम आचार्यले गुरुको जीवनमा पर्ने प्रभाव, गुरु(शिष्य परम्परा र आध्यात्मिक शिक्षाको महत्त्वबारे मन्तव्य दिनुभयो। उहाँले वर्तमान समाजमा गुरुको मार्गदर्शन अझै पनि उत्तिकै आवश्यक रहेको र यसको संरक्षण अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रम संस्कृत गुरुकुलमा अध्ययनरत बटुक विद्यार्थीहरूबाट वैदिक मन्त्र उच्चारण ९स्वस्ति वाचन० गर्दै प्रारम्भ गरिएको थियो। त्यसपछि धाममा दैनिक रूपमा सञ्चालन हुने नित्य पूजा, अग्निहोम र अन्य वैदिक कर्मकाण्डहरू पनि विधिपूर्वक सम्पन्न गरिएका थिए।

गुरुपूर्णिमा सम्मान कार्यक्रममा कपिलधामका कार्यसमिति पदाधिकारी, स्थानीय श्रद्धालु, बटुक विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका गुरुभक्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले वैदिक परम्पराको पुनर्जागरण तथा गुरुप्रति श्रद्धा अभिवृद्धिमा सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा रहेको छ।

प्रकाशित मिति : २६ असार २०८२ बिहिबार ००:००  ९ : ५३ बजे