१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा १४ ग्राम खैरो हेरोइनसहित तीन पक्राउ



कपिलवस्तु ।
कपिलवस्तु प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र पार्दै जिल्लाका विभिन्न स्थानबाट करिब १४ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाएको प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पहिलो अपरेसनमा सीमावर्ती क्षेत्र मर्यादपुरबाट कपिलवस्तु नगरपालिका१ का हमिद मुसलमानलाई ११.८२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले मुसलमानसँगको सोधपुछका आधारमा तौलिहवा बसपार्कबाट सागरटोलका रिन्कु ताडीवानलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए।

यसैगरी, अर्को एक कारबाहीमा कृष्णनगर नगरपालिका-२ स्थित एक क्लिनिक अगाडिबाट प्रहरीले स्थानीय दीप नारायण कुर्मीलाई पक्राउ गरेको छ।

उनको साथबाट ६५ पुरिया बनाएर प्लास्टिकमा राखिएको २.८० ग्राम खैरो हेरोइन र अवैध कारोबारमा प्रयोग भएको अनुमान गरिएको ३० हजार रुपैयाँ नगद बरामद भएको छ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको डीएसपी सिंहले बताए।

उनले लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको र यस्ता गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २५ श्रावण २०८२ आइतबार ००:००  ७ : ५६ बजे