१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा विजयनगर बन्यो प्रथम



कपिलवस्तु ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा विजयनगर गाँउपालिका जिल्लामै प्रथम बन्न सफल भएको छ । विजयनगर गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ९५ अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहहरू मध्ये सर्वोत्कृष्ट बनेको हो । वित्तीय सुशासन, पारदर्शिता र उत्तरदायित्वका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरे वापत गाउँपालिकालाई प्रशंसा-पत्र प्रदान गरिएको छ । गाउँपालिकाले निरन्तर वित्तीय अनुशासन र सुशासन प्रवर्द्धन गर्दै आगामी वर्षहरूमा पनि थप उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।

जिल्ला समन्वय समिति कपिलवस्तुले उत्कृष्ट उपलब्धी हासिल गरेकाले गाउँपालिका लाई प्रशंसा-पत्रले सम्मान गरेको छ । आइतबार जिल्ला समन्वय समितिको आठौ जिल्ला सभा बैठकले पालिकालाई प्रशंसा-पत्रले सम्मान गरेको हो ।

प्रमुख आचार्यलेले विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी र प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाललाई साे प्रशंसा-पत्र हस्तान्तरण गरेका हुन् ।

जिल्ला समन्वय समिति कपिलवस्तुको आठौँ जिल्ला सभा बैठकबाट आर्थिक वर्ष २०८२-०८३ को लागि निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा सभा अध्यक्ष बाबुराम आचार्यले निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस्तै जिल्ला समन्वय समिति अधिकारी जनार्दन अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जिल्ला सभा बैठकमा कपिलवस्तुका पालिकाहरुको प्रमुख तथा सभा सदस्यहरुको उपस्थिति थियो। यसैगरी बाणगंगा नगरपालिका​ले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८९.७५ अंक प्राप्त गर्दै देशभरका सबै स्थानीय तहमध्ये आठौँ स्थान हासिल गर्न सफल भएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८२ आइतबार ००:००  ६ : ०३ बजे