२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एसईई पुनर्योग: महेन्द्र माविका प्रकाशले ल्याए ४ जीपीए



कपिलवस्तु । बाणगंगा ५ कोपवास्थित श्री महेन्द्र माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राविधिक धार तर्फ ऐतिहासिक सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको पुनर्योग (Retotalling) को नतिजा अनुसार विद्यालयका विद्यार्थी प्रकाश आचार्यले पनि ‘४ जीपीए’ (4 GPA) प्राप्त गरेका छन्। गत वैशाखमा प्रकाशित मूल नतिजामा शत प्रतिशत नतिजा सहित साेही विद्यालयबाट अनुकुल पाेख्रेल, भुवन आचार्य, ऋषिराम भुसालले चार जिपिए ल्याएका थिए ।

कम्प्युटर इन्जिनियरिङ तर्फ डिडिएम विषयमा डि ग्रेड आएपछि पुनर्योग गरिएकाे थियाे । प्रकाश आचार्यको अंक थपिएर ४ जीपीए कायम भएपछि विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या चार पुगेको हाे। यो उत्कृष्ट नतिजासँगै विद्यालयले प्राविधिक धार (Technical Stream) तर्फ आफूलाई नेपालकै पहिलो विद्यालय भएकाे दाबी गरेको छ।

विशेष गरी प्राविधिक धारतर्फ एउटै विद्यालयबाट चार जना विद्यार्थीले पूर्ण ४ जीपीए हासिल गर्नुलाई विद्यालयले राष्ट्रिय स्तरकै गौरवको विषय र एक ठुलो उपलब्धिको रूपमा लिएको छ। याे सफलतापछि खुसी व्यक्त गर्दै विद्यालयकी प्रधानाध्यापक तनुश्री पुरी भण्डारीले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

“यो सफलता विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको संयुक्त परिणाम हो। यस ऐतिहासिक नतिजाले हामीलाई आगामी दिनमा थप उत्कृष्ट कार्य गर्न र शिक्षाको गुणस्तरलाई अझ सुदृढ बनाउन ठुलो प्रेरणा दिएको छ।”

सामुदायिक विद्यालयहरूमा महेन्द्र माध्यमिक विद्यालयले हासिल गरेको यो नतिजाले जिल्लाकै शैक्षिक साख बढाएको भन्दै स्थानीय स्तरमा समेत यसको उच्च प्रशंसा भइरहेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३ बिहिबार ००:००  १० : ०६ बजे