बुद्धभूमि, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूमा उद्यमशील सोच, आत्मविश्वास तथा सीप विकास गरी स्थानीय स्तरमै स्वरोजगार र उद्यम स्थापना गर्न आयोजित पाँच दिने तालिम सम्पन्न भएको छ।
बुद्धभूमि नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा तथा सामी (सुरक्षित आप्रवासन) कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा वैदेशिक रोजगारबाट फर्किएका ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो। नगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगार तथा उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
तालिममा सहभागी प्रमोद कुँवरले तालिमपछि स्वदेशमै केही गरौँ भन्ने सोचको विकास भएको बताउनुभयो। यस्ता कार्यक्रमले युवालाई सचेत गराउनुका साथै स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने उहाँको भनाइ छ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। युवाले अधिकारसँगै कर्तव्य पनि पालना गर्नुपर्ने उल्लेख गर्दै सीमित बजेटका बाबजुद नगरपालिकाले युवामुखी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।
तालिममा सहभागीलाई वैदेशिक रोजगार, वित्तीय साक्षरता, व्यवसाय व्यवस्थापन तथा जोखिम व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सामी परियोजना कपिलवस्तुका प्रमुख सुवास रेग्मी र प्रशिक्षक सिद्ध शिवाकोटीले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक रविन चौधरीले गर्नुभएको थियो।







प्रतिक्रिया