कपिलवस्तु ।
सिद्धार्थ सामाजिक विकास केन्द्रकाे संस्थागत अनुभव आदानप्रदान कार्यक्रम वाणगंगा ४ मा सम्पन्न भएको छ। अनुभव आदानप्रदान कार्यक्रममा संस्थाको स्थापनादेखिकाे विकासको क्रम, साझेदारी कार्यक्रम, त्यसका उपलब्धि तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। सहभागीहरूले संस्थाले समुदायस्तरमा गरेका सामाजिक, आर्थिक तथा मानव विकाससम्बन्धी गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठले २०५२ सालमा स्थापना भएको सिद्धार्थ सामाजिक विकास केन्द्रले छोटो समयमै समुदायको विश्वास जित्दै लुम्बिनी प्रदेशकै नमुना सामाजिक संस्थाको रूपमा पहिचान बनाउन सफल भएको बताए। उनले संस्थाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, जीविकोपार्जन, सामाजिक समावेशीकरण तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गरे।
संस्थाका अध्यक्ष तिलोचन घिमिरेले संस्थाको विगतको अनुभव, सिकाइ र उपलब्धिलाई आत्मसात गर्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गरिने बताए। उनले समुदायको आवश्यकता र समयको मागअनुसार संस्थाले आफ्ना गतिविधिलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। विगतका वर्षदेखि नै संस्थाले सयौंलाई रोजगारी सिर्जना गर्दै समुदायको समष्टीगत हितमा महत्वपूर्ण योगदान पुराईरहेको जानकारी दिए ।

संस्थाका सचिव दुर्गा अर्यालले पछिल्लाे ५ वर्षे रणनीतिक याेजना अनुसार संस्थाले ५ वटा थिमटिक सवालमा सिस्टम सुदृढिकरण लगाएत विभिन्न क्षेत्रमा केन्द्रित रहेर साझेदारी कार्यक्रमहरू कार्यान्वयन र विस्तार गरिरहेकाे जानकारी दिएका छन् ।
अनुभव आदान प्रदान कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गुणनीधि भुसाल, पूर्व सचिव रोमकान्त घिमिरे, हरि अधिकारी, प्रकाश घिमिरे, अन्जना पौडेल लगाएतले सदाचार, सेफगार्डिग, सूचना प्रविधी, मनोसामाजिक तथा बित्त व्यवस्थापन लगाएतका विषयमा प्रस्तुती गरेका थिए ।

त्यस्तै साझेदारी कार्यक्रम तर्फ कार्यक्रम प्रमुखहरू आरटी खान, यादव भुसाल, नारायण घिमिरे, अजय चाैधरी, कमला शुक्लाले हालसम्मको कार्यक्रमको मुख्य कृयाकलाप, उपलब्धी , सिकाई र भावी योजनाबारे प्रकाश पारेका थिए । साझेदारी कार्यक्रमकाे प्रस्तुती माथि संस्थाका अनुभवी तथा विषय विज्ञकाे प्यानलीस्ट समूहले सुझाव तथा टीप्पणी गरेका थिए ।
संस्थाकी उपाध्यक्ष शाेभा आचार्यले कार्यक्रममा संस्थागत जानकारी सहित सहभागी अतिथीलाइ स्वागत गरेकी थिइन् भने काेषाध्यक्ष ध्रुव वेल्वासेले संस्थागत नीति नियम, बित्त व्यवस्थापन लगाएतकाे जानकारी दिएका थिए । प्रस्तुत प्रतिवेदन अनुसार सिद्धार्थ सामाजिक विकास केन्द्रको कार्यक्षेत्र हाल लुम्बिनी प्रदेशका १०९ स्थानीय तह सम्म विस्तार भएको छ।
संस्थाका कार्यक्रमबाट ९३ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आर्थिक तथा सामाजिक रूपान्तरण, सचेतना अभिवृद्दि र क्षमता विकासाकाे क्षेत्रमा निरन्तर काम गर्दै आएको संस्थाले समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। कार्यक्रममा संस्थासँग आबद्ध पदाधिकारी, कर्मचारी, साझेदार निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।








प्रतिक्रिया