८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

नमुना सामुदायिक वनको छैटौँ अधिवेशनबाट पुनः पौडेल  अध्यक्षमा निर्वाचित



बाबुराम रायमाझी, जितपुर ।

“रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ।

साधारणसभामा समूहकी सचिव दुर्गा न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने उपाध्यक्ष खेलराज पौडेलले आर्थिक वर्ष २०८१/०८२ को करिब ७६ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै समूहका अध्यक्ष हुमलाल पौडेलले नमुना सामुदायिक वनको आगामी रणनीति, दिगो वन व्यवस्थापन तथा समुदायमैत्री योजनाहरूको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा सामुदायिक  विद्यालय र कपिलधाम गुरुकुलमा अध्ययनरत १२ जना जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरेको थियो। साथै, वन उपभोक्ता तथा पूर्ण अशक्त महेश थारुलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको थियो।कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनले नीति, नियम र योजनाअनुसार पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिँदै वनको संरक्षण, संवर्द्धन र सदुपयोगसँगै उत्पादनमुखी गतिविधि अघि बढाउनुपर्ने बताएका थिए । उनले स्थानीय सरकारसँग सहकार्य गरेर सञ्चालन गरिने कार्यक्रमहरूले सामाजिक विकासमा ठूलो टेवा पुगेको बताएका थिए । 

त्यस्तै, विशिष्ट अतिथि तथा वैज्ञानिक वन महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेनले देशमा २०७७ साल जेठ १५ गतेदेखि सुरु भएको वैज्ञानिक वन व्यवस्थापन अवधारणाले सामुदायिक वनलाई स्रोत–साधन सम्पन्न बनाएको बताइन्। उनले “एक वन, एक उद्यम” अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सामुदायिक वनले सहयोग विस्तार गर्नुपर्ने धारणा राखेकि थिइन ।

सब डिभिजन वन कार्यालय गोरुसिङ्गेका सहायक प्रमुख अमित पाण्डेले लुम्बिनी प्रदेशमै कपिलवस्तु जिल्ला सामुदायिक वन सम्पदाको केन्द्रका रूपमा रहेको बताउँदै सामुदायिक वनले समुदायमा चेतनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा कोइलीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुन्तामणि भुसाल, भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी, सञ्चारकर्मी बाबुराम रायमाझी, शिक्षक विष्णु पौडेल, शिवराज जोशी, कपिलधाम गुरुकुलका अध्यक्ष शंकरप्रसाद आचार्यलगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै सामुदायिक वनले समुदायमा गरेको रचनात्मक तथा सामाजिक कार्यको प्रशंसा गरेका थिए।

छैटौँ अधिवेशनबाट हुमलाल पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ, जसको उपाध्यक्षमा  श्रीधर घिमिरे,सचिवमा अनिता अधिकारी,कोषाध्यक्षमा  पूजा पाण्डे,सह–सचिवमा केवल रायमाझि र सदस्यहरूमा प्रेमला बुढाथोकी, दामोदर पराजुली, प्रदेशी थारु लगायत चयन भएका छन्। 

कार्यक्रमको समापन गर्दै अध्यक्ष हुमलाल पौडेलले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष खेलराज पौडेलले राखेका थिए भने केशव पाण्डेले सञ्चालन गरेका थिए।

हाल २ सय ६१प्वाइन्ट ९० हेक्टर क्षेत्रफलमा फैलिएको नमुना सामुदायिक वनबाट ३ सय ९६ घरधुरी प्रत्यक्ष लाभान्वित रहेका छन्। यस सामुदायिक वनले समुदायमा रचनात्मक र सिर्जनात्मक कार्य गर्दै वडामा नमुनायोग्य भूमिका निर्वाह गर्दै आएको छ। १५औँ साधारणसभामा छिमेकी सामुदायिक वनका अध्यक्ष, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति : ८ पुस २०८२ मंगलबार ००:००  ८ : ३६ बजे