बाबुराम रायमाझी, भलवाड ।
वाणगंगा नगरपालिका वडा नं. ९ अन्तर्गत उत्तमनगर टोल भर्लाबासमा अवस्थित नयाँ किरण उपभोक्ता सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा संस्थाको आफ्नै परिसरमा भव्य रूपमा सम्पन्न गरेको छ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष पोम प्रसाद अर्यालले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण सार्वजनिक गर्दै कुल २ करोड ८ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको जानकारी गराएका थिए। उनले संस्थाले सञ्चालन गरेका कार्यक्रम, सेवा तथा आर्थिक अवस्थाबारे सदस्यहरूलाई अवगत गराएका थिए।
त्यस्तै, लेखा संयोजक माधुरी सेन ओलीले सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक पारदर्शिता र सुशासनलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखेकी थिइन्। संस्थाका अध्यक्ष देवबहादुर श्रीसले आगामी वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रमबारे प्रस्ट पार्दै सहकारीलाई अझ सदस्य–मैत्री र उत्पादनमुखी बनाइने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले वर्तमान आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थामा तरलता बढेको अवस्थामा सहकारीहरूले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नयाँ किरण सहकारीले सञ्चालन गर्दै आएको सस्तो तथा सुलभ उपभोग्य सामग्री पसलले संस्थालाई चलायमान बनाएको र शेयर सदस्यहरूलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा संस्थापक अध्यक्ष भीमबहादुर पुन, कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाल, पत्रकार बाबुराम रायमाझी लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै सहकारीको निरन्तर प्रगतिको कामना व्यक्त गरेका थिए।
साधारणसभा नयाँ किरण उपभोक्ता सहकारी लिमिटेडका अध्यक्ष देवबहादुर श्रीसको अध्यक्षता, वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता तथा समाजसेवी हरिबहादुर खनाल, शकुन्ता आचार्य र पुष्पा कार्कीको आतिथ्यता रहेको कार्यक्रममा उपाध्यक्ष प्रेमलाल गिरीको स्वागत मन्तव्य रहेकोे थियो भने व्यवस्थापक मोतीकला पुनले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।
वि.सं. २०६८ सालमा स्थापना भएको नयाँ किरण उपभोक्ता सहकारीले स्थानीय शेयर सदस्यहरूलाई लक्षित गरी सुलभ पसल मार्फत दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्दै आइरहेको छ। यसबाट शेयर सदस्यहरूले सहज, सस्तो र भरपर्दो सेवा प्राप्त गर्दै आएका छन्। हाल संस्थामा कुल ३४५ जना शेयर सदस्य आबद्ध रहेका छन्।
स्थानीय स्तरमा आर्थिक सशक्तीकरण र सहकारी अभियानलाई मजबुत बनाउँदै आएको नयाँ किरण सहकारीको १४औं साधारणसभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।







प्रतिक्रिया