३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

एक सय पन्ध्र वर्ष पुरानो ऐतिहासिक भड्छा मेला



बुटवल । 

रुपन्देहीको सैनामैना नगरपालिका–८, भड्छामा ११५ वर्षदेखि आयोजना हुँदै आएको ऐतिहासिक भड्छा मेला सम्पन्न भएको छ । स्थानीय थारू समुदायले ११५ वर्षअघि सुरु गरेको भड्छा मेला रुपन्देहीकै सबैभन्दा पुरानो मेला हो भने रातिमा हुने भएकाले पनि यसको महत्व अन्य मेलाभन्दा पृथक् मानिएको छ । थारू समुदायले आफ्ना पुर्खाले सुरु गरेको यो मेलालाई संरक्षण गर्न भन्दै अहिलेसम्म निरन्तरता दिइरहेका छन् भने यो वर्ष पनि माघेऔँसीको अवसर पारेर सैनामैना नगरपालिका–८ को भड्छागाउँमा ११५ औँ संस्करणका रूपमा यो मेला भएको हो । 

रातिमै सुरु हुने र रातिमै सकिने तीनदिने ऐतिहासिक विशेषता रहेको यो मेला यो वर्ष माघेऔँसीको दिनदेखि सुरु भएको थियो । मेला आयोजक समितिका संयोजक सैनामैना नगरपालिका–८ का वडाध्यक्ष बुद्धिराम चौधरीले ‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भड्छा मेला भव्य रूपमा सम्पन्न भएको बताउनुभयो । 

विसं १९६७ सालबाट भड्छागाउँमा मेला सुरु भएको किंवदन्ती छ । मेलाका अवसरमा थारू समुदायको लोप हुँदै गएका झुमरा, बडका, मयूर, झर्रा र पटेवालगायतका ऐतिहासिक नाच प्रदर्शन गरिएको छ । त्यसै गरी थारू समुदायको परम्परागत खाना ढिकरी, अनदीको भुजा, घोँगी, पतुसनी, माछाका परिकार मेलामा राखिएको थियो ।  

प्रकाशित मिति : ८ माघ २०८२ बिहिबार ००:००  ९ : २४ बजे