वाणगंगा । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारहरूबीचको प्रतिस्पर्धा निकै रोचक बनेको छ। यस क्षेत्रबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा पुगेर भेटघाट तथा प्रचार–प्रसारमा सक्रिय छन्। कपिलवस्तु १ मा नेकपा एमालेका विश्राम प्रसाद थारु, नेपाली काँग्रेसका अतहर कमाल मुसलमान, रास्वपाबाट मोहनलाल आचार्य, नेकपाबाट कृष्ण बहादुर कुँबर र स्वतन्त्र उम्मेदवार आशिष शर्मा बीच मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । यी उम्मेदवारहरुको चुनावी शैली आ आफनै तौर तरिका छ ।
उम्मेदवार शर्माकाे शैली :
यस्तै फरक शैलीका उम्मेदवारमध्ये एक हुन् युवा उम्मेदवार आशिष शर्मा। ४६ वर्षीय शर्मा नेपाली कांग्रेसका युवा नेता हुन्। उनी युवा, विद्यार्थी, महिला, किसान तथा मजदुर समुदायबीच लोकप्रिय छन्। विगतमा उनले कपिलवस्तु कृषि तारा कार्यक्रम, एसईई उत्कृष्ट विद्यार्थीलाई ट्याब वितरण तथा सम्मान, कृषि उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ३० वटा वडाहरू पर्दछन्। उम्मेदवारहरूको घरदैलो अभियान र चुनावी प्रचारको शैली फरक–फरक देखिएको छ। पुराना राजनीतिक दलहरूले संगठन परिचालनमार्फत घरदैलो कार्यक्रम अघि बढाइरहेका छन् भने नयाँ तथा स्वतन्त्र उम्मेदवारहरू प्रत्यक्ष घर–घरमै पुगेर आफ्ना एजेण्डासहित मतदातासँग संवादमा जुटिरहेका छन्।
कांग्रेसबाट आधिकारिक टिकट पाउने सम्भावनामा पहिलो स्थानमा रहे पनि जिल्ला नेतृत्वको निर्णयका कारण टिकट नपाएपछि पुरानै उम्मेदवार अतहर कमाल मुसलमानलाई अघि सारिएको थियो। त्यसपछि पार्टी नछोडी स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गरेका शर्माले कांग्रेसजन, शुभेच्छुक तथा मतदाताको साथमा उम्मेदवारी दिएको जानकारी मायादेवी अनलाइनलाई बताए।

सामाजिक संजालमा अपडेट :
आशिष शर्माको चुनावी प्रचार–प्रसारको शैली अन्य उम्मेदवारभन्दा भिन्न देखिन्छ। उनी दैनिक कार्यतालिका बनाएर चुनावी गतिविधिमा सक्रिय छन्। घरदैलो कार्यक्रमको तालिका सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मतदातामाझ पुग्ने गरेका छन्। उनले क्षेत्र नम्बर १ का उत्तरदेखि दक्षिणसम्मका सबै वडामा ‘क्रस मोडल’मार्फत मतदाता भेटघाट गरिरहेका छन्। भने देश भित्र बाहिर युवा मतदातासंग कुरा गर्न जुम आइडीबाट समेत आवह्नान गरेका छन् ।
शर्माको फेसबुक अकाउन्ट निकै सक्रिय छ। उनले दैनिक चुनावी गतिविधिसम्बन्धी सूचना अपडेट गर्दै आएका छन्। उनको डिजिटल सचिवालयसमेत रहेको बताइन्छ। केही दिनअघि उनले सामाजिक सञ्जालमा “संयमित र मितव्ययी निर्वाचन नै असल राजनीतिको सुरुवात हो। सुशासनको नयाँ अध्यायमा यहाँहरूको सुझाव, सल्लाह र साथको अपेक्षा गर्दछु” भन्दै स्टाटस पोस्ट गरेका थिए।
उनले भने, “मेरो ठूलो संगठन छैन, जनताले मनैदेखि माया गरेर साथ दिएका छन्।” उनका अनुसार स्वतःस्फूर्त रूपमा युवाहरूले विभिन्न सामाजिक सञ्जाल अकाउन्टहरू बनाएर चुनावी गतिविधि प्रचार गरिरहेका छन्। “मेरो आधिकारिक अकाउन्ट ‘आशिष शर्मा’ हो। अन्य ‘अब आशिष’, ‘अब शुद्धोधन’, ‘अब मायादेवी’ आशिष शर्मा जिताउ अभियान जस्ता अकाउन्टहरू शुभेच्छुकहरूले चलाइरहेका छन्,” उनले बताए।
गाउँ–गाउँबाट युवाहरूले विभिन्न माध्यमबाट सहयोग गरिरहेको भन्दै सामाजिक सञ्जालदेखि अन्य विषयमा आफूलाई व्यापक साथ मिलेको शर्माको भनाइ छ।

आशिष शर्माले किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष घर–खेतमै पुगेर आफ्ना विकासका एजेण्डा सुनाउँदै आएका छन्। कपिलवस्तुमा पछाडि परेको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको जोड छ। “मैले विगतमा पनि काम गरेको छु, अब पनि गरेर देखाउँछु,” उनले दृढताका साथ भने।







प्रतिक्रिया