वाणगंगा । कपिलवस्तु क्षेत्र न. १ मा रास्वपाका उम्मेदवार मतदातासंग आफना एजेन्डा सहित भोट माग्न व्यस्त छन् । कोपवाका मोहनलाल आचार्य व्यवहारिक हुने कानुन र विकासको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ यतिबेला विशेष राजनीतिक चासोको केन्द्र बनेको छ । प्रतिस्पर्धामा रहेका अन्य दल र स्वतन्त्र उम्मेदवारकाे पनि आ–आफनै एजेन्डा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका अधिवक्ता आचार्यको उपस्थितिलाई धेरैले कपिलवस्तुको राजनीतिमा फरक र उच्च योग्यता बोकेको उम्मेदवारीका रूपमा व्याख्या गर्न थालेका छन्
संविधान तथा परराष्ट्र कानुन विज्ञका रूपमा परिचित आचार्य लामो समयदेखि कानुन व्यवसाय, संवैधानिक व्याख्या, नीतिगत बहस तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनी अभ्यासमा सक्रिय रहँदै आएका छन् । यही अनुभवलाई जनताको दैनिक जीवनसँग जोड्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् ।
उनको चुनावी एजेन्डाको केन्द्रमा ‘सर्वसाधारणले अनुभूति गर्ने कानुन’ रहेको छ । कानुन निर्माण प्रक्रियालाई जनमुखी, व्यवहारिक र कार्यान्वयनयोग्य बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । ‘कानुन किताबमा सीमित होइन, नागरिकको जीवनमा न्याय, सुरक्षा र भरोसा दिलाउने माध्यम हुनुपर्छ,’ भन्ने उनको धारणा छ ।
शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा प्रभावकारी कार्यान्वयन गर्ने उनको योजना रहेको छ । सर्वसाधारणसम्म सरकारी सेवा प्रवाह सरल, सुलभ र गुणस्तरीय पहुँच विस्तार, सरकारी सेवाको गुणस्तर सुधार तथा निजी क्षेत्रको व्यवस्थित नियमन उनका प्रमुख एजेन्डा हुन् ।
कृषि प्रधान क्षेत्र कपिलवस्तुको अर्थतन्त्र सुदृढ बनाउन कृषकमुखी कृषि प्रणाली विकास, उत्पादनमा आधुनिकीकरण, बजारीकरणको सुनिश्चितता र कृषि बीमालाई प्रभावकारी बनाउने कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन् । साना किसानलाई सहकारी र प्रविधिसँग जोड्ने योजना पनि उनको घोषणापत्रमा समावेश छ ।
ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण कपिलवस्तुमा पर्यटन प्रवर्धन उनको अर्को मुख्य एजेन्डा हो । बुद्ध सर्किटको अन्तर्राष्ट्रिय प्रचारप्रसार, पर्यटकीय पूर्वाधार विकास, होटल तथा सेवा उद्योग विस्तारमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य उनले अघि सारेका छन् । ‘कपिलवस्तुलाई विश्व पर्यटन नक्सामा स्थापित गर्न सकिन्छ,’ भन्ने विश्वास उनको छ ।
भौतिक पूर्वाधारतर्फ आधुनिक सडक सञ्जाल, व्यवस्थित शहरीकरण, सुरक्षित खानेपानी, सिंचाइ विस्तार र डिजिटल पूर्वाधार विकासलाई उनले विशेष प्राथमिकतामा राखेका छन् । विकास निर्माणमा पारदर्शिता, गुणस्तर र कडा अनुगमन अनिवार्य हुने उनले बताएका छन् ।
सुशासन आचार्यको अर्को केन्द्रीय मुद्दा हो । कानुनी राज्यको प्रत्याभूति, भ्रष्टाचारको अन्त्य र दण्डहीनताविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । सार्वजनिक पदलाई सेवामुखी बनाउने र नागरिकप्रति प्रत्यक्ष जवाफदेही शासन प्रणाली विकास गर्ने उनको भनाइ छ ।
युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीप विकास, स्टार्टअप प्रवर्धन तथा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै अवसर विस्तार गर्ने कार्यक्रम पनि उनको चुनावी एजेन्डामा समेटिएको छ । शिक्षित युवाशक्तिलाई उत्पादन र उद्यमसँग जोड्ने रणनीतिलाई उनले प्राथमिकतामा राखेका छन् ।
समग्रमा, उच्च शैक्षिक, कानुनी र नीतिगत पृष्ठभूमिसहित चुनावी मैदानमा उत्रिएका अधिवक्ता मोहनलाल आचार्यलाई मतदाताले कसरी मूल्यांकन गर्नेछन्, त्यसको निर्णय निर्वाचन परिणामले गर्नेछ । तर, योग्य उम्मेदवार, नीतिगत बहस र विकासमुखी एजेन्डाका कारण कपिलवस्तु–१ को निर्वाचन यसपटक विशेष चासो र बहसको केन्द्र बनेको छ ।
२४ माघ २०८२ शनिबार ००:००
0
Shares







प्रतिक्रिया