२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

कपिलवस्तु–१ मा राप्रपालाई दुर्गा प्रसाईं समर्थित समूहको समर्थन



कपिलवस्तु।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवारलाई दुर्गा प्रसाईं समर्थित समूहले समर्थन गर्ने घोषणा गरेको छ।

मंगलबार शुद्धोधन गाउँपालिकाको प्रगतिनगरमा आयोजित औपचारिक कार्यक्रममार्फत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान कपिलवस्तु ले आसन्न निर्वाचनमा राप्रपालाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै अभियानका पदाधिकारीहरूले विदेशी दलालहरूले राष्ट्रलाई खोक्रो बनाइसकेको आरोप लगाउँदै राप्रपाको एजेन्डा र विचार आफ्ना अभियानसँग मिल्दोजुल्दो भएकाले निर्वाचनमा सहयोग गर्ने बताएका थिए। उनीहरूले सहकारी पीडित, मिटरब्याज पीडित तथा सुकुम्बासीका मुद्दा उठाउँदै आएको भन्दै अभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई पटक–पटक पक्राउ गरिएकोप्रति आक्रोश व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा अभियानका केन्द्रीय सदस्य धुर्व रायमाझीले देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा देशलाई निकास दिन राप्रपाको विचार र एजेन्डा नै उपयुक्त विकल्प भएको बताए। उनले दुर्गा प्रसाईं नेतृत्वको समूहले उठाएका अधिकांश मुद्दा राप्रपाले विगतदेखि नै उठाउँदै आएको दाबी गर्दै ती मुद्दाको सम्बोधन गर्ने पार्टी राप्रपा मात्र रहेको जिकिर गरे।

यसैगरी कपिलवस्तु निर्वाचन क्षेत्र नं। १ का राप्रपा उम्मेदवार शत्रुघन विलास सिंह कुर्मीले आफू सधैं पीडित जनताको पक्षमा आवाज उठाउँदै आएको बताउँदै निर्वाचनमा समर्थन र एकता जनाएकोमा अभियानका पदाधिकारीहरूलाई धन्यवाद दिए।

कार्यक्रममा राप्रपाका स्थानीय पदाधिकारीहरूले सहकारी पीडित, मिटरब्याज पीडित, सुकुम्बासी लगायत जनताको समस्या समाधान तथा राष्ट्रहितमा काम गर्ने पार्टी राप्रपा रहेको उल्लेख गर्दै अब सबै पक्ष एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए।

कार्यक्रममा राप्रपा तथा राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान कपिलवस्तुका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २८ माघ २०८२ बुधबार ००:००  १० : ३३ बजे