२९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026

कपिलवस्तुमा बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो



कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा बाणगंगा नगरपालिका कार्यसम्पादनतर्फ पहिलो पालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार बाणगंगाले ७४.३० अङ्क प्राप्त गर्दै जिल्लाभित्र शीर्ष स्थान हासिल गरेको हो ।

जिल्लाको दोस्रो स्थानमा महाराजगञ्ज नगरपालिका रहेको छ, जसले ६७.८० अङ्क प्राप्त गरेको छ ।

देशभरको सन्दर्भमा भने कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका देखिएको छ । उक्त नगरपालिकाले ३०.९१ अङ्क मात्र प्राप्त गरेको छ । अधिकांश मधेश प्रदेशका पालिकाहरूको कार्यसम्पादन तुलनात्मक रूपमा कमजोर देखिएको उल्लेख गरिएको छ ।

छ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिका ७८.११ अङ्कसहित सबैभन्दा उत्कृष्ट देखिएको छ भने संघीय राजधानी काठमाडौँ महानगरपालिका ४४.९७ अङ्कसहित सबैभन्दा कमजोर स्थानमा परेको छ ।

ललितपुर महानगरपालिका ७६.३३ अङ्कसहित दोस्रो, भरतपुर महानगरपालिका ६८.०४ अङ्कसहित तेस्रो, पोखरा महानगरपालिका ५८.०४ अङ्कसहित चौथो र वीरगञ्ज महानगरपालिका ५४ अङ्कसहित पाँचौँ स्थानमा रहेका छन् ।

आयोगले बजेट तर्जुमा तथा कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायत १७ सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२ बिहिबार ००:००  ७ : ०० बजे