३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

आशिष शर्माको पक्षमा कांग्रेसकै नेताहरू खुल्दा राजनीतिक वृत्तमा चर्चा



वाणगंगा । कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मा प्रति जनमत बढ्दै गएपछि नेपाली कांग्रेस पार्टीभित्र असन्तुष्टि खुल्दै गएको छ। निर्वाचन नजिकिदै जादा कांग्रेस नेता तथा कार्यकताहरु खुलेर आशिषको पक्षमा देखिन थालेका छन् । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समिति सदस्य हरिराज घिमिरेले स्वतन्त्र उम्मेदवार आशिष शर्मा लाई सहयोग गर्न आम मतदातासमक्ष अपिल गरेका छन्। यसैगरी, कपिलवस्तु क्षेत्र नम्बर १ अन्तर्गत वाणगंगा नगरपालिका वडा नम्बर ६ का कांग्रेस सभापति अनिल कुमार पाण्डेले पनि युवा तथा स्वतन्त्र उम्मेदवार शर्माको खुला समर्थन गरेका छन्। उनले आशिष शर्मालाई जिप चिन्हमा मतदान गर्न आग्रह गर्दै स्थानीय जनभावनाअनुसारको नेतृत्व आवश्यक रहेको बताए। नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमिति सदस्य कमलराज आचार्यले पनि स्वतन्त्र उम्मेदवार आशिष शर्माप्रति समर्थन जनाएका छन्। यससँगै कांग्रेसकै जिल्ला तहका नेताहरू खुल्दै जाँदा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
यसअघि नै कपिलवस्तु क्षेत्र नं १ का कांग्रेस क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, क्षेत्र नं १ प्रदेश (क) सभापति दुर्गा केसी, कांगेस मायादेवी गाउँपालिका सभापति शैलेन्द्र प्रसाद दुवे, नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका सभापति विशम्भर प्रसाद कुर्मी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, लोकप्रिय तथा युवा नेता विरेन्द्र श्रेष्ठ, मनोज पौडेल, टिआर पाण्डे लगायत नेता तथा कार्यकर्ताहरुले आशिष शर्मालाई समर्थन गर्ने गरी प्रचारमा जुटेका छन् । वाणगंगा नगरपालिका भित्र थुप्रै नेता तथा कार्यकता नखुलेरै आशिषको पक्षमा रहेको एक नेताले श्रोतलाई बताए ।
निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाएका शर्मालाई युवादेखि वृद्धसम्मले साथ दिन थालेका छन्। कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेका युवा नेताहरूले सामाजिक सञ्जालमार्फत खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेस नेताहरूले समयको मागअनुसार युवा नेतृत्व आवश्यक रहेको र जनचाहनाअनुसार चल्न सक्ने क्षमता आशिष शर्मामै रहेको बताएका छन्। उनीहरूका अनुसार आम मतदाताको मनसमेत शर्माको पक्षमा रहेको देखिएको छ। यसरी केन्द्रले अन्याय गरेको भन्दै स्थानीय तहका कांग्रेस नेताहरू स्वतन्त्र उम्मेदवारको समर्थनमा उत्रिँदा कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
२०२२ सालदेखि नेपाली कांग्रेस राजनीतिमा सक्रिय घिमिरेले क्षेत्रले अहिलेको परिस्थिति अनुसार क्षेत्रीय समितिले आशिष शर्मालाई पहिलो नम्बरमा राखेको तर पार्टीले क्षेत्रले सिफारिस नगरेको व्यक्तिलाई टिकट दिएको बताए। घिमिरेले युवालाई सहयोगको लागि अपिल गर्दै भने, अब युवा पुस्ताले युवा नेतृत्वलाई समर्थन गर्ने समय आएको बताउँदै आशिष शर्मा हाम्रो क्षेत्रको सक्षम युवा नेता रहेको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२ आइतबार ००:००  ७ : ४२ बजे