भलवाड ।
वाणगंगा नगरपालिका–९ मा अवस्थित कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा सञ्चालन भइरहेको ७ दिवसीय श्री ब्रहम पुराण ज्ञान महायज्ञको छैटौँ दिन भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। धार्मिक तथा आध्यात्मिक वातावरणमा आयोजना गरिएको महायज्ञमा स्थानीयसहित टाढाटाढाबाट आएका श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।
महायज्ञको अवसरमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू पनि धार्मिक कार्यक्रममा सहभागी भएका छन्। कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार विश्राम प्रसाद थारु तथा स्वतन्त्र उम्मेदवार आशिष शर्माले महाशिवरात्रिको अवसर पारेर मन्दिरमा पूजाआजा गर्नुका साथै उपस्थित भक्तजन र मतदातासँग भेटघाट गरेका थिए।
उनीहरूले धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै क्षेत्रको समग्र विकासका लागि सहकार्य आवश्यक रहेको बताएका थिए।
त्यस्तै, दुबै उम्मेदवारले नजिकै रहेको रामदतिवन धाममा पुगेर धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
रामदतिवन र कपिलधामलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने उनीहरूको भनाइ रहेको छ। साथै, उनीहरूले मतदाताबाट सद्भाव र सहयोगको अपेक्षा समेत व्यक्त गरेका छन्।
महायज्ञमा जीवन विज्ञानसँग सम्बद्ध व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। जीवन विज्ञानका संस्थापक एल पि भानु शर्मा, लुम्बिनी प्रदेश संयोजक मोतीना भुसाल, सल्लाहकार हरी पोख्रेल तथा प्रदेश सहसंयोजक कमला भण्डारीको सहभागिता रहेको थियो। उनीहरूले धार्मिक कार्यक्रमले समाजमा नैतिकता, आध्यात्मिक चेतना र सकारात्मक सोच विस्तार गर्न सहयोग पुग्ने बताएका छन्।
यस पवित्र भूमिमा विगत वर्षहरूझैँ यस वर्ष पनि ७ दिवसीय महायज्ञ सञ्चालन गरिएको हो। कार्यक्रममा प्रखर आध्यात्मिक वक्ता ऋषिकेश उपाध्यायको मुखारबिन्दबाट श्री ब्रहम पुराण ज्ञान महायज्ञ प्रवचन भइरहेको छ।
प्रवचनमा धर्म, संस्कार, जीवन दर्शन र समाज सुधारका विषयमा विशेष जोड दिइएको छ।
आयोजक समितिका अनुसार धार्मिक अनुष्ठान, पूजाआजा, भजन–कीर्तन तथा प्रवचनसहित सञ्चालन भइरहेको श्री ब्रहम पुराण ज्ञान महायज्ञ फागुन ४ गतेसम्म जारी रहनेछ। आयोजकले सबै भक्तजनलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन अनुरोध गरेको छ।







प्रतिक्रिया