मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा सार्वजनिक स्थलमा शंकास्पद बम जस्तो देखिने वस्तु राखिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
आज (मंगलबार) बिहान बुद्धभूमि नगरपालिका–२ गोरुसिङे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्ड, महाराजगञ्ज नगरपालिका–२ बाणगंगा नदीको बर्गदी पुल नजिक तथा शिवराज नगरपालिका–१ शिवपुर रेन्जर पोस्ट नजिक बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो।
विशेष सूचनाको आधारमा सार्वजनिक सडक, पुल तथा सर्वसाधारण आवतजावत गर्ने स्थानमा विष्फोटक पदार्थ राख्ने कार्यमा संलग्न रहेको आरोपमा बाणगंगा नगरपालिका–२ तिनैया बस्ने ५८ वर्षीय शोभे थारु (खोमे थारु) लाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बाणगंगा नगरपालिका कपिलवस्तुका साधारण सदस्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहत इलाका प्रहरी कार्यालय गोरुसिङे र इलाका प्रहरी कार्यालय पिपरा को संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विष्फोटक पदार्थ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कपिलवस्तु जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।







प्रतिक्रिया