कपिलवस्तु ।
कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङे बाट खटिएको प्रहरी टोलीले फागुन १ गते साविक महुँवा गाविस वडा नं. ८ हाल बुद्धभूमि नगरपालिका वडा नं. ६ कोहनौलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले खानतलासी गर्दा उनको साथबाट नेपाली रुपैयाँ १,००० दरका ९९ थान र विभिन्न स्थानमा कारोबार गरिएका २ थान गरी जम्मा १,०१,००० रुपैयाँ बराबरका १०१ थान नक्कली जस्तो देखिने नोट बरामद गरेको जनाएको छ।
थप अनुसन्धानका क्रममा सो कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अन्दाजी १९ वर्षीय अजय यादव, साविक दोहनी गाविस वडा नं. ७ हाल कपिलवस्तु नगरपालिका वडा नं. ८ कचरिहवाका ५२ वर्षीय संजय गुप्ता (पटेश्वरी प्रसाद गुप्त) तथा अन्दाजी ५० वर्षीया साजिदा खातुन रहेका छन्।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी मिति २०८२ फागुन ४ गते कपिलवस्तु जिल्ला अदालत बाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नक्कली नोटहरू बुद्धभूमि नगरपालिका वडा नं. १० स्थित पेट्रोल पम्प र तरकारी पसल तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित पेट्रोल पम्पमा कारोबार भएको खुल्न आएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।








प्रतिक्रिया