९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने



कपिलवस्तु ।
कपिलवस्तुमा २५७०औं शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने भएको छ । बिरुढकको आक्रमणबाट शाक्यहरूको सामूहिक बध भएको दिनको स्मरणमा उक्त दिवस मनाउन लागिएको हो ।
स्मरण दिवस बौद्धकालीन ऐतिहासिक स्थल सगरहवा (लम्बुसाग)० मा आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । दिवसको तयारी तथा सञ्चालनबारे शुक्रबार कपिलवस्तु स्थित जगदीशपुर कलौनीमा बसेको बैठकले विभिन्न निर्णय गरेको दिवस व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभएको छ ।
उक्त अवसरमा शाक्य समुदायका पूर्वजप्रति श्रद्धाञ्जली अर्पण, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने कार्यक्रम तय गरिएको समितिले जनाएको छ । संयोजक गुरुङका अनुसार, “शाक्य समुदायका पूर्वजहरूको बलिदान र ऐतिहासिक पीडालाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासबारे सचेत गराउने उद्देश्यले दिवस मनाउन लागिएको हो । यसले शाक्य सभ्यता र बौद्धकालीन इतिहासको संरक्षणमा समेत टेवा पुग्ने विश्वास लिएका छौं ।”
त्यस्तै, बौद्ध अनुसन्धानकर्ता पोमनारायण पौडेलले दिवसलाई सांस्कृतिक एकता र ऐतिहासिक चेतनासँग जोडेर मनाउनुपर्ने धारणा राख्नुभएको छ । यस्तै, बरिष्ठ पत्रकार नारायण पौडेलले शाक्य वंशको इतिहासलाई शैक्षिक पाठ्यक्रम र अनुसन्धानसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै, दिवस मनाउन ९ सदस्यीय समिती समेत गठन गरिएको छ । जस्को संयोजकमा ललित गुरुङ्ग, सहसंयोजकमा रामसभारे यादव र सदस्यहरुमा पोमनारायण पौडेल, इन्द्र प्रसाद हरिजन, बिजय खनाल, आयुस्मा परियार, पवित्रा थारु, ससुमयी शाक्य र रियाज खाँ रहनु भएको छ । यस्तै सल्लाहाकार समितीमा सुदीप पौडेल, दिपक गुरुङ्ग, चर्तुभुज पाण्डे, नारायण पौडेल र शिव पौडेल रहनुभएको छ ।
यस्तै दिवसलाई थप प्रभावकारी बनाउनका लागि संचार समन्वय समिती समेत गठन गरिएको छ । जस्को संयोजकमा दीपा महत, सदस्यहरुमा भुपाल थापा र बासुदेव बर्मा (अजय) लाई चयन गरिएको छ ।
शाक्यहरूको सामूहिक विनाश गरिएको स्थल भएकोले सगरहवासँग शाक्य वंशहरूको दुःखको सम्बन्ध जोडिएको छ । यहाँ आउने बौद्ध तिर्थालुहरू अकालमा मारिएका शाक्यहरूको आत्माको चीर शान्तिको कामना गर्छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२ शनिबार ००:००  १२ : २० बजे