तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले कृषकले भोग्दै आएको मलखाद र सिँचाइ अभाव समाधानलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
कपिलवस्तु जिल्ला अन्तर्गत यशोधरा गाउँपालिका विभिन्न गाउँमा घरदैलो कार्यक्रमका क्रममा उहाँले आफू कृषक परिवारबाट आएको उल्लेख गर्दै किसानका समस्या नजिकबाट बुझेको बताउनुभयो । “संसद्मा पुगेपछि मलखाद र सिँचाइजस्ता आधारभूत आवश्यकतामा सरकारको ध्यानाकर्षण गराउँदै ठोस पहल गर्नेछु,” उहाँले भन्नुभयो ।
घरदैलोका क्रममा मतदाताले मलखाद, सिँचाइ र बाटोघाटो सुधारका विषय उठाउने गरेको जनाउँदै आचार्यले ती समस्या समाधानका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतमा संसदीय बजेटमार्फत सिँचाइ तथा विद्युतीकरणका क्षेत्रमा काम गरिएको र त्यसबाट स्थानीय बासिन्दा लाभान्वित भएको उहाँको दाबी छ ।
पाँचवर्षे कार्यकालअघि नै संसद् विघटन भएकाले सिँचाइका लागि विनियोजित बजेट कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले निर्वाचनपछि रोकिएका योजना पुनः अघि बढाइने बताउनुभयो ।
आगामी निर्वाचनमा आफू विजयी हुने विश्वास व्यक्त गर्दै उहाँले मतदातामा कांग्रेसप्रति उत्साह देखिएको दाबी गर्नुभयो ।







प्रतिक्रिया