तौलिहवा।
सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा नवयुवाको सहभागिता विषयक अन्तरपुस्ता संवाद कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ। गैरसरकारी संस्था महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा युवापुस्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविस्वर घिमिरेले निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै यसको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। उहाँले कुनै आग्रह वा पूर्वाग्रह नराखी स्वच्छ, निष्पक्ष तथा मर्यादित ढंगले निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश की अध्यक्ष जितकुमारी बेल्वासेले युवालाई जागरुक बनाउनु आवश्यक रहेको बताउनुभयो। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक द्वन्द्व र अशान्ति फैलाउने गतिविधि बढेको उल्लेख गर्दै उहाँले सामाजिक सद्भाव जोगाउन संयमता अपनाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागीहरुले मतदान केन्द्रको बुथ एकाइसम्म अपांगता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्ने विषय, भोट बदर कम गर्न प्रभावकारी निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने उपाय तथा सामाजिक सञ्जालको दुरुपयोग न्यूनीकरणका लागि अपनाइने रणनीतिबारे जिज्ञासा राखेका थिए।
गैससका जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमबारे जानकारी गैसस सदस्य रामेन्द्र सिंह रावलले गराउनुभएको थियो भने सञ्चालन उपाध्यक्ष रामशरण रैदासले गर्नुभएको थियो।







प्रतिक्रिया