कपिलवस्तु ।
सार्वजनिक शान्ति भंग गरेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
चैत ७ गते कपिलवस्तुको महाराजगंज नगरपालिका–२ बर्गदवास्थित काली मन्दिरमा ढुङ्गा प्रहार गरी मन्दिर तोडफोड तथा सामाग्रीमा क्षति पुर्याइएको घटनापछि हिन्दु–मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको थियो।
उक्त घटनापछि कपिलवस्तु नगरपालिका–४ कोदहवा चोकमा सार्वजनिक सडकमा गुडिरहेको मोटरसाइकल रोकी सवार व्यक्तिमाथि लाठी, हेलमेट तथा मुक्काले कुटपिट गरिएको थियो। सो क्रममा मोटरसाइकल र मोबाइलमा समेत क्षति पुर्याइएको प्रहरीले जनाएको छ। साथै, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने खालको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
सोही घटनामा संलग्न ५–६ जनामध्ये कपिलवस्तु नगरपालिका–४ बस्ने अन्दाजी २६ वर्षीय दुर्गेश यादव ९राज० र २२ वर्षीय पवन कुमार गुप्तालाई प्रहरीले चैत १० गते पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि सार्वजनिक शान्ति खलल पार्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ। यसअघि प्रहरीले मन्दिरमा ढुङ्गा प्रहार तथा तोडफोडमा संलग्न ६ जनालाई समेत पक्राउ गरी कारबाही गरिसकेको जनाएको छ।







प्रतिक्रिया