कपिलवस्तु ।
सामाजिक सञ्जालमार्फत धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न रहेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
यहि चैत ७ गते महाराजगंज नगरपालिका–२ बर्गदवास्थित काली मन्दिरमा ढुङ्गा प्रहार गरी तोडफोड तथा क्षति पुर्याइएको घटनापछि हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो। सोही घटनासम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विभिन्न जातजाति तथा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने, घृणा तथा द्वेष फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा प्रहरीले कारवाही अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय मुस्ताक नाउलाई चैत ९ गते पक्राउ गरेको छ। उनलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी, कपिलवस्तु नगरपालिका–१ का २१ वर्षीय जितेन्द्र कहारलाई चैत ११ गते पक्राउ गरी ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी भाईचारा कायम राख्न सबैमा आग्रह गर्दै कुनै पनि प्रकारका उक्साहटपूर्ण अभिव्यक्ति, द्वेष फैलाउने सामग्री तथा भ्रामक सूचना सामाजिक सञ्जालमा प्रवाह नगर्न अनुरोध गरेको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले कानूनविपरीतका गतिविधिमा संलग्न भए कडा कारवाही गरिने चेतावनी दिनुभयो ।







प्रतिक्रिया