२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

नमस्ते कपिलवस्तुले भित्रायो नयाँ बस, आइतबारदेखि दिवा सेवा सञ्चालन



कपिलवस्तु । विगत १२ वर्षदेखि यातायात क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘नमस्ते कपिलवस्तु’ले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नयाँ अत्याधुनिक बस सेवा सुरु गरेको छ। कम्पनीले आफ्नो ब्राण्डमार्फत भाेली आइतबारदेखि कृष्णनगर–काठमाडौँ रुटमा ‘शुभयात्रा’ नामकाे दिवा सेवा सञ्चालनमा ल्याएको हो।

नयाँ बस आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित तयार पारिएको कम्पनीले जनाएको छ। सञ्चालक कमल क्षेत्रीका अनुसार बस यात्रुका लागि आरामदायी, सुरक्षित र सुविधासम्पन्न बनाइएको छ। “पहिलाभन्दा फरक र आधुनिक सुविधासहितको बस ल्याएका छौँ, जसले यात्रुको मन जित्ने विश्वास लिएका छौँ,” उनले बताए।

‘शुभयात्रा’ बसमा एसी, डबल सस्पेन्सन प्रणाली, २२ सोफा सिट जडान गरिएको छ, जसले लामो यात्रामा थकान कम गर्ने कम्पनीको दाबी छ। साथै यात्रुहरूको सहजताका लागि निःशुल्क वाइफाइ, मोबाइल चार्जिङ पोर्ट, अडियो–भिडियो मनोरञ्जन सेवा र मिनरल वाटरको व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार अनुभवी चालक र दक्ष कर्मचारीहरूको टिमले यात्रुहरूलाई सुरक्षित तथा भरपर्दो सेवा प्रदान गर्नेछ। विगतमा पनि नमस्ते कपिलवस्तुको सेवाबाट सन्तुष्ट रहेको भन्दै यात्रु गायत्री घिमिरेले मायादेवी अनलाइनसँग कुरा गर्दै भनिन्, “मैले पहिले पनि नमस्ते कपिलवस्तुबाट काठमाडौँ आवतजावत गरेकी छु, अहिलेसम्म कुनै समस्या परेको छैन।”

यो बस कपिलवस्तुको कृष्णनगरबाट दैनिक बिहान ५ बजे छुट्नेछ र चारनम्बरमा बिहान ६ बजे पुग्ने कम्पनीले जनाएको छ। कपिलवस्तुका साथै रुपन्देही र पश्चिम नवलपरासीका यात्रुहरूले समेत यस सेवाबाट लाभ लिने अपेक्षा गरिएको छ।

यात्रुहरूले अनलाइन टिकट बुकिङ ‘नमस्ते कपिलवस्तु टुर्स एण्ड ट्राभल्स’ तथा विभिन्न मोबाइल एप्समार्फत गर्न सक्नेछन् भने चारनम्बरमा रहेकाे समितिकाे काउन्टरबाट समेत दैनिक बुकिङ गर्न सकिने वरिस्ठ कर्मचारी नारायण भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२ शनिबार ००:००  १२ : ३८ बजे