कपिलवस्तु, १५ चैत ।
केपी शर्मा ओली को पक्राउको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कपिलवस्तुले सदरमुकाम तौलिहवामा व्यापक प्रदर्शन गरेको छ। पार्टीको पूर्वनिर्धारित कार्यक्रमअनुसार नेता तथा कार्यकर्ताहरूले ओलीको तत्काल रिहाइको माग गर्दै विरोध र्याली तथा कोणसभा आयोजना गरेका हुन्।
प्रदर्शनका क्रममा एमालेका नेता–कार्यकर्ताहरूले पार्टी कार्यालयबाट सुरु भएको र्याली बजारका विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरूले “ओलीको रिहाइ गर”, “राजनीतिक प्रतिशोध बन्द गर” लगायतका नाराबाजी गर्दै सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका थिए।
जिल्ला प्रशासन कार्यालयमा पुगेर एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा ओलीको पक्राउ गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोध प्रेरित भएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरिएको छ। साथै विधिको शासनको सम्मान गर्न र राजनीतिक प्रतिशोधका गतिविधि रोक्न सरकारसँग जोडदार आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष खनालले ओलीलाई बिना शर्त रिहा नगरे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। “हामी शान्तिपूर्ण आन्दोलनमा छौं, तर हाम्रो माग सम्बोधन नभए अझ कडा आन्दोलनमा जान बाध्य हुनेछौं,” उनले भने।
कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि ओलीको रिहाइ नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। उनीहरूले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षा गर्न आन्दोलन आवश्यक भएको बताएका थिए।
विरोध कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य गिरीधारीलाल न्यौपाने, शिवकुमारी चौधरी, पूर्व राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, प्रदेश कमिटी सदस्य अर्जुन कुमार केसी, नेत्रराज अधिकारी, गोपाल बहादुर थापा लगायतका नेताहरू तथा विभिन्न पालिकाका जनप्रतिनिधि, भातृ संगठनका पदाधिकारी र ठूलो संख्यामा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो। जिल्ला प्रशासन कार्यालय आसपास सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने सम्भावित अप्रिय घटना हुन नदिन निगरानी बढाइएको प्रहरीले जनाएको छ।
एमालेले आगामी दिनमा पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेको छ, जसले कपिलवस्तुको राजनीतिक माहोल अझ तातेको देखिएको छ।
१५ चैत्र २०८२ आइतबार ००:००
0
Shares






प्रतिक्रिया