बाबुराम रायमाझी ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ मा पोषणमैत्री वडा निर्माण गर्ने उद्देश्यसहित १ दिने पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। वाणगंगा नगरपालिका पोषण शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा सहजीकरण समिति र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा वाणगंगा नगर स्वास्थ्य शाखाका सह–संयोजक भक्तिराम पाण्डेले पोषणमैत्री वडा घोषणा गर्न स्वास्थ्यसँग सम्बन्धित १० वटा सूचक पूरा गर्नुपर्ने जानकारी दिनुभयो। उहाँले कुपोषणको मुख्य कारण सही खानपानको ज्ञान अभाव भएको उल्लेख गर्दै सन्तुलित आहार र पोषणयुक्त भोजनको महत्वबारे प्रकाश पार्नुभयो।
त्यस्तै, कार्यक्रममा प्रशिक्षकको रूपमा वाणगंगा नगर कृषि शाखाका कृषि प्रसार अधिकृत सन्तोष कुमार भुसाल र डा. यमलाल पोख्रेलले पोषण, खाद्य सुरक्षा तथा स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँहरुले स्थानीय स्तरमै उपलब्ध खाद्य वस्तुको सही प्रयोगमार्फत कुपोषण न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि रिता कुमारी चौधरीले वाणगंगा नगरपालिकाका वडा नं. २, ५ र ८ लाई पोषणमैत्री वडा घोषणा गरिसकिएको जानकारी दिँदै बाँकी वडाहरूमा पनि क्रमशः यस्तो घोषणा गरिने बताउनुभयो। उहाँले निकट भविष्यमै सम्पूर्ण नगरलाई पोषणमैत्री नगर घोषणा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यस अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
वडा अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य केशरा गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने बहुक्षेत्रीय पोषण कार्यक्रमकी फोकल पर्सन शर्मिला रानाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका अध्यक्ष, सामुदायिक वनका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा बाल सञ्जालका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै पोषणमैत्री वडा निर्माण अभियानलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया