मायादेवी अनलाइन, बाणगंगा ।
बाणगंगा खोलाको किनारामा धोएको बालुवा चलाउने गरी खुलेको उद्योग अन्ततः क्रेसरको रुपमा परिणत भएको छ । यसले ‘सियो भएर छिर्ने हात्ति बनेर निस्कने’ नेपाली उखानलाई प्रतिविम्व गरेको छ ।
सिद्धार्थ एग्रीगेट वासिङ उद्योगले धोएको वालुवा बेच्ने गरी अनुमती पाएको थियो । बालापुर गाउँसँग जोडिएको यो उद्योग सञ्चालनमा आउनुपूर्व गाउँलेहरु विरोधमा थिए । गाउँ नजिकै क्रेसर सञ्चालन गर्दा असर हुने भन्दै गाउँलेले उद्योग खोल्नु अगाडी ठूलै विरोध गरेका हुन् । तर उद्योगले आफूले क्रेसर नचलाएर वालुवा धोएर मात्र बेच्ने उद्योग सञ्चालन गर्न थालेको भन्दै गाउँलेलाई मनाएको थियो ।
तर धोएको वालुवा बेच्ने गरी खुलेको उद्योग आजभोलि भने ठूलै क्रेसरमा परिणत भएको छ । यहाँसम्म कसरी आयो ? स्वयम् गाउँलेले प्रश्न गर्छन् ।
उद्योगका सञ्चालक हुन् नारायण भुसाल । उनी ठूला ठेकेदार हुन् । विभिन्न राजनीतिक दलसँग नजिक रहेका भुसाल हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध छन् । उनले आफ्नो श्रीमतीलाई समानुपातिक सांसद बनाएका छन् ।
सानातिना कानूननै संशोधन गराउन सक्ने खुबी भएका ठेकेदार भुसालले बालुवा प्रशोधन उद्योगलाई क्रेसरमा रुपान्तरण गराउन विभिन्न कोसिस गरेको देखिन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको उद्योग विभागले क्रेसर उद्योगको अनुमति, दर्ता तथा नियमन सम्वन्धी प्रक्रिया तथा मापदण्ड, २०८० जारी गरेको छ । जहाँ क्रसर सञ्चालनका लागि विभिन्न कानूनी शर्त तोकेको छ ।
जबकी यो मापदण्ड लागू भएको दुई बर्षपछि मात्र सिद्धार्थ वासिङ उद्योग सञ्चालन भएको छ । मापदण्ड नपुगेकै कारण क्रेसरको अनुमति नपाएर बालुवा प्रशोधन गर्ने गरी सिद्धार्थले अनुमती पाएको हो ।
पछिल्लो समय रास्वपाका सभापति समेत रहेका रबी लामिछाने गुहमन्त्री हुँदासमेत अवैध क्रेसर बन्द गराउने गरी जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेका थिए । त्यो परिपत्र कार्यान्वयन गर्न चुनौती देखिएको थियो । विभिन्न समयमा अवैध क्रेसरबारे कुरा उठ्दै आएपनि क्रेसरको लाइसेन्स नै लिन सक्ने कुनै कानूनी प्रावधान थिएन । तर यहीँ बीचका वालुवा प्रशोधन गर्ने अनुमती पाएको सिद्धार्थले कसरी क्रेसर सञ्चालन गर्ने अनुमती पायो अनुसन्धानको विषय भएको जानकार स्रोत बताउँछ ।
एक जना क्रेसर सम्बन्धि जानकार व्यक्ति भन्छन्, ‘विभिन्न समयमा विभिन्न पार्टी परिवर्तन गर्दै आएका भुसालले कर्मचारीलाई प्रभावमा पारेर क्रेसरको अनुमति लिएको देखिन्छ । जबकी क्रेसर सञ्चालन गर्न अहिलेको कानून बाधक छ । कसरी प्रदेश सरकारले क्रेसर सञ्चालनको अनुमती दिन सक्छ ?’ उनले प्रश्न गरे ।
उद्योगका सञ्चालक हरि अर्यालले सबै प्रक्रिया पूरा गरेर क्रेसर सञ्चालन गरेको दाबी गरे । तर उनले अनुमती प्राप्त गरेका प्रमाण दिन आग्रह गर्दा पछि दिने बताए ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका सूचना अधिकारी विष्णु प्रसाद पोख्रेलले गुह मन्त्रालयले क्रेसर सम्बन्धि पठाएको निर्देशन उपर छलफल भइरहेको प्रतिक्रिया दिए । अब तत्कालै क्रेसरको अनुगमन गर्ने उनले जनाए ।
गृह मन्त्रालयको निर्देशन कसरी कार्यान्वयन हुन्छ ? अनुगमन निकायले कस्तो प्रतिक्रिया दिन्छन्, अनुमती दिने निकाय कुन हुन् ? त्यसपछि थप जानकारी विवरण आउनेछ ।
यो पनि पढ्नुहोस्
बाणगंगामा अबैध क्रसरको रजगज, सिद्धार्थ र ओम एकताले कसरी पाए क्रसर अनुमती ?







प्रतिक्रिया