२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

वाणगंगामा २ हप्तादेखि उठेन फोहोर, बजारवासीलाई सकस



कपिलवस्तु ।

वाणगंगा नगरपालिका क्षेत्रमा दैनिक रूपमा निस्कने फोहोरमैला संकलन नहुँदा नगरवासी समस्यामा परेका छन्। गत आइतबारदेखि बजार क्षेत्रका विभिन्न स्थानमा थुप्रिएको फोहोरका कारण क्षेत्र दुर्गन्धित बन्दै गएको छ।

घर तथा पसल अगाडि फोहोर थुप्रिँदा दुर्गन्ध फैलिनुका साथै सुख्खा मौसम र हावाहुरीका कारण समस्या अझ बढेको बैरियाका स्थानीय गोपाल श्रेष्ठले मायादेवी अनलाइनलाई बताए। उनका अनुसार, “गएको आइतबारदेखि यो आइतबारसम्म फोहोर नउठ्दा निकै समस्या भएको छ।”

स्थानीयवासीले फोहोर संकलन हुने डम्पिङ साइटमा अवरोध गरेपछि फोहोर उठ्न नसकेको जनाइएको छ। यसअघि वाणगंगा नदी किनार तथा बनक्षेत्रमा यस क्षेत्रको फोहोर व्यवस्थापन हुँदै आएको थियो। युवा व्यवसायी मनोज पौडेलले सामाजिक संजालमा लेख्दै भनेका छन् – हाम्रोमा पनि बन्चरे डाँडाको जस्तो समस्या आइपर्यो जस्तो छ, बालेन सरकार ।

नगरपालिकाका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार, “स्थानीयवासीले उक्त स्थानमा फोहोर राख्न नपाइने भन्दै नगरपालिकामा डेलिगेशन आएपछि विगतदेखि प्रयोग हुँदै आएको स्थानमा अवरोध सिर्जना भएको हो।” यसका कारण दैनिक फोहोर संकलन प्रभावित भएको उनले बताए।

हाल वडा कार्यालय तथा खानेपानी तथा सरसफाइसम्बन्धी संघ संस्थामार्फत फोहोर व्यवस्थापनका लागि पहल भइरहे पनि ठोस समाधान भने निस्किएको छैन।

फोहोर संकलनको जिम्मा पाएको वातावरणीय सेवा (फेरी) का प्रतिनिधि कमल तिवारीले भने, “हामीले वाणगंगा नगरको बजार क्षेत्रबाट नियमित फोहोर उठाउँदै आएका थियौं। अहिले अवरोधका कारण दिनहुँ करिब २ सय फोन आइरहेका छन्, तर फोहोर पसलअगाडि थुप्रिएको छ।”

उनका अनुसार, वाणगंगा पुल नजिकै फोहोर फाल्न रोक लगाएपछि संकलनमा समस्या भएको हो। “डम्पिङ साइटको टुंगो लाग्नेबित्तिकै पुनः फोहोर उठाउनेछौं,” उनले भने।

हाल फोहोर उठाउने ट्याक्टरहरू कामविहीन अवस्थामा नगरभित्रै रोकिएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८२ आइतबार ००:००  ११ : ४६ बजे