२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न



कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ स्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदार तथा प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बुद्धभूमि नगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्राविधिक सहयोगमा रोजगार सेवा केन्द्रमार्फत कार्यक्रम सञ्चालन गरिएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, विश्वसनीय र भरपर्दो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष तथा नगर प्रवक्ता तिलक बहादुर बस्नेतले वैदेशिक रोजगारीमा जाँदा आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिए। उनले जानकारी बिना विदेश जाँदा विभिन्न जोखिम र झन्झटमा पर्ने सम्भावना रहने बताए। वर्तमान प्रविधिको युगमा उपलब्ध माध्यमहरूको उपयोग गरी आवश्यक जानकारी लिनुपर्ने उनले सुझाव दिए।

उनले आगामी बजेट निर्माण प्रक्रियामा वैदेशिक रोजगारीसँग सम्बन्धित नयाँ कार्यक्रम प्रस्ताव गरिएमा बजेट विनियोजन गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे।

सो अवसरमा रोजगार संयोजक रवनि चौधरीले सुरक्षित वैदेशिक रोजगारीका लागि नगरपालिकाले विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। दलालमार्फत विदेश जाने क्रम बढेसँगै ठगी, अलपत्र पर्ने तथा अपेक्षित काम र पारिश्रमिक नपाउने समस्या बढ्दै गएको उनले बताए।

बुद्धभूमि नगरपालिकाबाट हालसम्म ५ हजारभन्दा बढी व्यक्ति विभिन्न देशमा रोजगारीका लागि गइसकेका छन्। सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै बजेट व्यवस्था गरेको पनि उनले जानकारी दिए।

अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, जाने क्रममा र पुगेपछि अपनाउनुपर्ने प्रक्रिया, सीपमूलक तालिम, सूचना पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता तथा न्यायमा पहुँचका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सामी कार्यक्रमका जिल्ला संयोजक सुभाष रेग्मीले वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया, कानुनी पक्ष तथा आवश्यक सावधानीबारे जानकारी दिएका थिए।

प्रकाशित मिति : २४ चैत्र २०८२ मंगलबार ००:००  ७ : २० बजे