मायादेवी अनलाइन, चौरी।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौरीले ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। आइतबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा अभिभावक दिवस, वार्षिकोत्सव तथा नतिजा प्रकाशन गरिएको हो।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक तथा विद्यालयलाई आर्थिक सहयोग गर्ने विभिन्न संघ–संस्थालाई सम्मान गरिएको थियो।


सोही अवसरमा विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन समेत गरिएको छ।
नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उक्त भवनको उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले हालको शैक्षिक नतिजाले सन्तुष्टि दिने अवस्था नरहेको बताउँदै शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। राज्यले शिक्षामा अर्बौं लगानी गरे पनि अपेक्षित गुणस्तर सुधार हुन नसकेको स्वीकार गर्दै यसलाई सुधार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो।
उहाँले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो। विद्यार्थीको उपस्थितिलाई नियमित बनाउन सरकारले दिवा खाजा लगायतका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै शिक्षाको गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
वडा नं. ५ का वडा अध्यक्ष रोम बहादुर थापा क्षेत्रीले पनि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समुदाय, अभिभावक, शिक्षक र विद्यार्थी सबैको समन्वय आवश्यक रहेको बताउनुभयो। विद्यालयमा पछिल्लो समय सुधारका सकारात्मक संकेत देखिएको उल्लेख गर्दै शिक्षण सिकाइ सुधारका लागि शिक्षकको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बुद्धभूमि सहकारी सञ्जालका नगर उपसंयोजक मीना केसी, पूर्व प्रअ सुन्दर विक्रम सेन, मुरलीधर घिमिरे, बुद्धभगवान कुर्मी, प्रमोद कुँवर, मुना चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रअ बुद्धिराम अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले विद्यालयमा पछिल्लो समय सुधारका प्रयासहरू भइरहेको उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
सहायक प्रअ लोकनाथ गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक हिरालाल चौधरीले गर्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमलाल गिरीले विद्यालयको समग्र विकासका लागि प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गौतम बुद्ध सामुदायिक वन, वनदेवी सामुदायिक वन तथा साना किसान कृषि सहकारी संस्था, पूर्व प्रअ सुन्दर विक्रम सेन र अस्मिता पाण्डेलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।








प्रतिक्रिया