१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

वाणगंगा : १४ हजार गरिबलाई लक्षित गरी सहयाेग गराैं



कपिलवस्तु । वाणगंगा नगरपालिकामा शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै लगानी बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। पालिका तहमा सीमित स्रोतसाधन, बजेटको ठूलो हिस्सा तलब भत्ता र सामाजिक सुरक्षामा खर्च हुने अवस्थाबीच शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अपेक्षित लगानी हुन नसकेको चर्चा गरिएको छ। यसले निशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयनमा समेत जटिलता थपिएको बताइएको छ।

नगर प्रमुख चक्रपाणी अर्यालले निशुल्क शिक्षाले गुणस्तरमा चुनौती ल्याउन सक्ने बताउनुभयो। उहाँका अनुसार भौगोलिक विविधता, सामाजिक परिवेश र आर्थिक असमानताका कारण गुणस्तरीय शिक्षा सुनिश्चित गर्न कठिनाइ भइरहेको छ। तर, राज्यका सबै संरचनाहरू प्रभावकारी रूपमा कार्यान्वयनमा आए निशुल्क शिक्षालाई व्यवस्थित बनाउन सकिने उहाँको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरभित्र पहिचान भएका करिब १४ हजार गरिब परिवारलाई लक्षित गरी सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय आवश्यकता अनुसार गैससहरूसँग सहकार्य गर्नुपर्ने र आ-आफ्नो उद्देश्य लिएर आउने प्रवृत्तिले काममा नतिजा नदेखिने बताउनुभयो। अति विपन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने र सीमित स्रोतका बाबजुद पनि नगरपालिकाले शिक्षामा लगानी गरिरहेको उहाँले उल्लेख गर्नुभयो।

शिक्षा शाखा प्रमुख रोशन घिमिरेले पाँच वर्षे नगर शिक्षा योजना कार्यान्वयनमा रहेको जानकारी दिँदै पहुँच र निरन्तरता, गुणस्तर र सान्दर्भिकता तथा संस्थागत सुशासनलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभयो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य हरि अधिकारीले शिक्षामा लगानी अझै अपर्याप्त रहेको उल्लेख गर्नुभयो। उहाँले कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न सके मात्रै सरकारका लक्ष्यहरू हासिल गर्न सकिने बताउनुभयो। साथै, निशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयनमा पालिका तहको सक्रियता अपेक्षाकृत कमजोर रहेको उहाँको भनाइ थियो।

रुम टु रिडका कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले बालबालिकाको पढ्ने सीप विकासमा विशेष ध्यान दिनुपर्ने बताउँदै बालविकास तहदेखि नै सिकाइ स्तर सुधार गर्न विभिन्न पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र, पिस नेपाल, कालिका स्वावलम्वन सामाजिक केन्द्रले वाणगंगा नगरपालिकामा सञ्चालन गरिरहेका शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन लगायतका गतिविधिहरू प्रस्तुत गरेको थियो। शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूको सहभागितामा भएको उक्त कार्यक्रममा आगामी दिनमा लगानी वृद्धि, प्राथमिकता निर्धारण तथा समन्वय र सहकार्य सुदृढ गर्ने तर्फ याेजना बनाउनुपर्नेमा जाेड दिइएकाे थियाे ।

उक्त छलफल कार्यक्रम “पालिका तहको शिक्षामा लगानी, अबको प्राथमिकता तथा सरोकारवालाको भूमिका” विषयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा आयोजना गरिएको हो। विश्वव्यापी कार्यसप्ताहको अवसरमा साताव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जिल्ला संयोजक बाबुराम रायमाझीले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८३ शुक्रबार ००:००  ११ : ०६ बजे