कपिलवस्तु ।
गरीब, विपन्न तथा दलित महिलाहरूको सशक्तिकरणका लागि कपिलवस्तुको यशोधरा गाउँपालिकामा सञ्चालन भइरहेको “जीवन सुधार परियोजना” को संयुक्त अनुगमन गरिएको छ।
अष्ट्रेलियन एड र युएमएनको सहयोग तथा दलित सामाजिक विकास केन्द्रको अगुवाइमा गाउँपालिकाका ५ वटा वडामा उक्त परियोजना सञ्चालनमा रहेको छ। जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको नेतृत्वमा दुई समूह बनाएर लाभग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गरी स्थलगत अनुगमन गरिएको हो।
अनुगमन टोलीले वडा नम्बर १, २, ३, ४ र ८ मा सञ्चालन भइरहेका कार्यक्रम तथा क्रियाकलापहरूको अवलोकन गरेको थियो। वडा नम्बर २ स्थित पश्चिम भडेहरमा परियोजनाको सहयोगमा सञ्चालनमा रहेका लक्ष्मी डेरी उद्योग, अन्जनी कोहारको टंकी पसल, पट्टी यादवद्वारा सञ्चालित भर्मिक तथा गडौला मल उत्पादन केन्द्र र सर्जु यादवको मसला पिसानी उद्योगको अनुगमन गरिएको थियो।
त्यसैगरी वडा नम्बर १ मा एकता आत्मनिर्भर समूहसँग अन्तरक्रिया गर्नुका साथै पुन्नीहवामा निर्मला रैदासद्वारा सञ्चालित आईपिएम कृषक पाठशाला अन्तर्गतको तरकारी खेतीको पनि निरीक्षण गरिएको थियो।
लक्ष्मी डेरी उद्योगका सञ्चालक दलबहादुर यादवले परियोजनाको सहयोगमा ६ वर्षअघि १६ लिटर दूध संकलनबाट व्यवसाय सुरु गरेको बताउँदै हाल दैनिक करिब ५५० लिटर दूध संकलन हुँदै आएको जानकारी दिनुभयो। उद्योगको वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा बढी रहेको र संकलित दूध इमिलियास्थित ग्लोबल डेरी उद्योगमा बिक्री हुँदै आएको उहाँले बताउनुभयो।
यस्तै, पट्टी यादवद्वारा उत्पादन गरिएको भर्मिक तथा गडौला मलको माग उच्च रहेको छ। परियोजनाले मल उत्पादनका लागि संरचना निर्माणमा सहयोग गरेको र हाल एक पटकमा २० क्विन्टलसम्म भर्मिक मल उत्पादन भइरहेको जनाइएको छ। मलको मूल्य भर्मिक मल प्रतिकिलो ३० रुपैयाँ र गडौला मल प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रामशरण रैदासले परियोजनाले दलित, विपन्न तथा अल्पसंख्यक महिलाहरूको आयआर्जन वृद्धि गर्दै सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले परियोजनाले आयआर्जन र चेतनामा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुभयो।
अनुगमनमा जिल्ला समन्वय उपप्रमुख रमेश कुर्मी, गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेय, पालिकाका प्रशासन शाखा प्रमुख रेशम शर्मा तथा वडा नम्बर ३ की अध्यक्ष सरिता त्रिपाठीलगायतको सहभागिता रहेको थियो।







प्रतिक्रिया