३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

बुद्धभूमि–५ मा प्रशासनिक भवन शिलान्यास, सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास



दिपा महत, राजपुर ।

बुद्धभूमि नगरपालिका वडा नम्बर ५ को प्रशासनिक भवन शिलान्यास गरिएको छ। बुधबार नगर प्रमुख केशव कुमार श्रेष्ठ र वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापा क्षेत्रीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधुनिक तथा व्यवस्थित प्रशासनिक भवन आवश्यक रहेको बताउनुभयो। उहाँले नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नु नगरपालिका सरकारको प्राथमिकता भएको उल्लेख गर्दै निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्दै तोकिएको समयमै भवन सम्पन्न गर्न निर्देशन दिनुभयो।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। त्यसैले नागरिकलाई सहज र प्रभावकारी सेवा दिन भौतिक पूर्वाधार पनि व्यवस्थित हुनुपर्छ। यो भवन निर्माणपछि वडा कार्यालयको सेवा प्रवाह अझ चुस्त, पारदर्शी र नागरिकमैत्री बन्ने विश्वास लिएको छु।”

त्यस्तै वडा अध्यक्ष रोम बहादुर थापा क्षेत्रीले नयाँ प्रशासनिक भवन निर्माणले वडा कार्यालयको कामकारवाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताउनुभयो। उहाँले वडावासीलाई सहज वातावरणमा सेवा उपलब्ध गराउने उद्देश्यसहित भवन निर्माण अघि बढाइएको जानकारी दिनुभयो।

वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो, “हाल सीमित संरचनाबाट सेवा दिनुपरेको अवस्था छ। नयाँ भवन निर्माण भएपछि सेवाग्राहीले सहज र व्यवस्थित वातावरणमा सेवा पाउनेछन्। यसले वडा कार्यालयको कार्यसम्पादन क्षमता बढाउनुका साथै नागरिकको विश्वास समेत मजबुत बनाउनेछ।”

रेसुंगा कन्ट्रक्सन कपिलवस्तुले निर्माणको ठेक्का पाएको उक्त भवनको कुल लागत १ करोड २७ लाख ४ हजार ३ सय ३७ रुपैयाँ रहेको छ भने इस्टिमेट रकम १ करोड ९० लाख १६ हजार ५ सय ५० रुपैयाँ रहेको छ। भवन आगामी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, युवा, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८३ बुधबार ००:००  १२ : ४४ बजे