१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गुणस्तरीय मासु वितरण गर्न उपप्रमुख चौधरीको आग्रह



बाणगंगा ।
बाणगंगा नगरपालिकाकी नगरउपप्रमुख रिता कुमारी चौधरीले उपभोक्तालाई गुणस्तरीय मासु वितरण गर्न सके व्यवसाय समेत फस्टाउने बताउनुभएको छ । मंगलबार बाणगंगा नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित जुनोटिक रोग लगायत अन्य रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले रोगजन्य संक्रमणबाट बच्न मासु व्यवसायीहरुलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।उहाँले अनुगमनका क्रममा नगरभित्र गुणस्तरीय मासु बिक्री वितरण नभएको भेटिएकाले यस्ता कार्यक्रम मार्फत व्यवसायीहरुलाई सचेत गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेस बहादुर केसीले मासु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले उपभोक्तालाई गुणस्तरीय मासु वितरण गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले कतिपय रोग पशुबाट मानिसमा र मानिसबाट पशुमा समेत सर्न सक्ने भएकाले सबै व्यवसायी सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

पशु सेवा शाखाका प्रमुख धुव्रराज ज्ञवालीले स्वागत मन्तव्य राख्दै मासु व्यवसायीहरुले मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पशु चिकित्सकद्वय डा. यमलाल पोख्रेल र डा. जगदीश रिजालले मासु पसल सञ्चालन तथा सुधारका लागि आवश्यक मापदण्डबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत भक्तिराम पाण्डे, सामुदायिक रेडियो तथा टेलिभिजन बुद्ध आवाजका समाचार प्रमुख दिपिका सुनार, बाणगंगा माध्यमिक विद्यालयका शिक्षक माधव घिमिरे लगायतको आतिथ्यता रहेको थियो । पशु सेवा प्राविधिक खुमानन्द पोख्रेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा बाणगंगाका मासु व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३ मंगलबार ००:००  ७ : ५० बजे